जनकपुरधाम, १६ पुष । मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूलाई झारा टार्ने शैलीमा काम नगर्न कडा निर्देशन दिएका छन् ।

शपथग्रहणपछि मन्त्रालयमा आयोजित कर्मचारीहरूसँगको परिचयात्मक तथा ब्रिफिङ कार्यक्रममा बोल्दै मन्त्री पटेलले काममा नतिजा देखिने गरी दत्तचित्त भएर लाग्न आग्रह गरेका हुन् ।

मन्त्री पटेलले मधेश प्रदेश कृषिमै आश्रित प्रदेश भएको उल्लेख गर्दै किसानका समस्या समाधानमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पारे ।

उनका अनुसार मधेशका किसान मलखाद्यको अभाव, सिँचाइको समस्या, उत्पादन लागत वृद्धि र बजार व्यवस्थापनलगायत विविध समस्याबाट पीडित छन् । ‘किसानलाई समस्या धेरै छन् । ती समस्या समाधान गर्ने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘म भाषण होइन, काम मन पराउँछु । त्यसैले हरेक कर्मचारीले जिम्मेवारीबोधका साथ परिणाममुखी काम गर्नुपर्छ ।’

मन्त्री पटेलले कृषि क्षेत्रमा देखिने ढिलासुस्ती र कागजी काममा सीमित प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै झारा टार्ने हिसाबले गरिने काम आफूलाई मन नपर्ने चेतावनी दिए ।

मधेश प्रदेशलाई कृषिमा देशकै नमुना प्रदेशका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै त्यसका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म इमान्दारिताका साथ काम गर्नुपर्ने उनको जोड थियो ।

‘मधेश कृषिमा निर्भर प्रदेश हो । यहाँको समृद्धि किसानसँग जोडिएको छ,’ मन्त्री पटेलले भने, ‘किसानका समस्या सहज रूपमा समाधान हुने वातावरण बनाउन मन्त्रालय र मातहतका निकायले दत्तचित्त भएर काम गर्नुपर्छ । कुनै पनि प्रकारको लापरवाही सहन हुँदैन ।’

कार्यक्रममा मन्त्रालयका विभिन्न महाशाखा, शाखा तथा मातहतका कार्यालयका कर्मचारीहरूले प्रदेशको कृषि अवस्था, किसानले भोगिरहेका समस्याहरू, चालु कार्यक्रम तथा आगामी दिनमा गर्नुपर्ने प्राथमिकताबारे मन्त्री पटेललाई ब्रिफिङ गरेका थिए । कर्मचारीहरूले मलखाद्य आपूर्ति, सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधि, सहकारी व्यवस्थापन र भूमि व्यवस्थापनसम्बन्धी चुनौतीहरूबारे जानकारी गराएका थिए ।