जनकपुरधाम, १६ पुष । चिसो क्रमशः बढ्दै गएसँगै जनकपुरधामका सडक पेटी र सार्वजनिक स्थानमा रात बिताउन बाध्य गरिब, असहाय तथा बेवारिसे व्यक्तिहरूलाई लक्षित गर्दै क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सुरु गरेको छ ।

कठोर शितलहरका कारण सडक जीवन बिताइरहेका नागरिकको स्वास्थ्य जोखिम बढेपछि उनीहरूलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झाको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा संस्थाका सचिव मनीष श्रीओम, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका डिआइजी गोविन्द थपलिया, प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, क्लोथ बैंक कार्यालय सचिव कृष्णकुमार साह तथा प्रहरी नायब निरीक्षक रवि मण्डललगायतको सहभागिता रहेको थियो । टोलीले राति करिब ११ बजेसम्म जनकपुरधामका विभिन्न स्थानमा पुगेर सिरक वितरण गरेको थियो ।

टोली गंगासागर, राम मन्दिर, जानकी मन्दिर, बारबिघा, संकटमोचन मन्दिर, रेलवे स्टेशन, मिल्स एरिया लगायतका स्थानमा पुगेर जाडोले कठोर बनेको रातमा सडक पेटी र खुला स्थानमा सुतेका व्यक्तिहरूलाई खोजी–खोजी सिरक वितरण गरेको थियो । चिसोका कारण अस्वस्थ अवस्थामा देखिएका गरिब, विपन्न र असहाय व्यक्तिहरूलाई प्राथमिकताका साथ सिरक प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्लोथ बैंक नेपालका अध्यक्ष डा. झाका अनुसार यो अभियान सडक जीवन बिताइरहेका नागरिकका लागि तत्कालीन राहतका रूपमा सञ्चालन गरिएको हो । ‘शितलहरको समयमा सडकमा सुत्नेहरू सबैभन्दा बढी जोखिममा पर्छन् । उनीहरूलाई न्यूनतम न्यानो उपलब्ध गराएर स्वास्थ्य जोखिम कम गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने ।

यसअघि रौनियार युवा मञ्चले क्लोथ बैंक नेपाललाई ५० थान फाइबर सिरक सहयोग गरेको थियो । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष तथा क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरन रौनियारको पहलमा उपलब्ध उक्त सिरकमध्ये २५ थान जनकपुरधामका विभिन्न स्थानमा वितरण गरिएको हो । बाँकी सिरक आवश्यकताअनुसार अन्य क्षेत्रमा वितरण गरिने बताइएको छ ।

सिरक वितरण कार्यक्रम रौनियार सेवा समितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले शितलहरबाट प्रभावित व्यक्तिहरूका लागि यस्ता सहयोगी अभियान अत्यन्त महत्वपूर्ण रहेको बताए ।