जनकपुरधाम, १६ पुष । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी, व्यवस्थापन र समन्वयलाई प्रभावकारी बनाउन उक्त कार्यालय स्थापना गरिएको निर्वाचन प्रशासनले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता रहेका छन् । ती मतदाताको कुल मतभार १० हजार ८ सय ३९ रहेको छ । मतदातामध्ये प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षहरू समावेश छन् ।

प्रदेश सभातर्फ १०७ जना सदस्य मतदाता रहेका छन् । प्रत्येक प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ । यसअनुसार प्रदेश सभा सदस्यतर्फको कुल मतभार ५ हजार ६ सय ७१ रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी २७२ जना मतदाता रहेका छन् । उनीहरूको मतभार १९ कायम गरिएको छ भने स्थानीय तहका जनप्रतिनिधितर्फको कुल मतभार ५ हजार १ सय ६८ रहेको छ ।

निर्वाचनका मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीका अनुसार हाल मतदाता नामावली अन्तिम चरणमा पुगेको भए पनि केही कानुनी र प्रशासनिक कारणले अन्तिम नामावली प्रकाशित हुन सकेको छैन ।

‘कतिपय प्रदेश सभा सदस्यहरू निलम्बनमा परेका छन् भने स्थानीय तहका केही जनप्रतिनिधिहरू पनि निलम्बनको अवस्थामा छन्,’ उनले भने, ‘यस्ता विषय टुंगो लागेपछि मात्रै अन्तिम मतदाता नामावली प्रकाशित गर्न सकिन्छ ।’

मुख्य निर्वाचन अधिकृत पुरीका अनुसार निर्वाचन आयोगले आगामी १९ गते मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम नामावली प्रकाशित भएपछि मात्र मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि यकिन मतदाताको संख्या र कुल मतभार स्पष्ट हुने उनले जानकारी दिए ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुनेछ । त्यसका लागि आवश्यक प्रशासनिक, प्राविधिक तथा सुरक्षासम्बन्धी तयारी क्रमशः अघि बढाइँदै लगिएको छ । जनकपुरधाममा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी अन्य कामको समन्वय गर्नेछ ।

राजनीतिक दलहरू पनि निर्वाचनलाई लक्षित गर्दै आन्तरिक छलफल र रणनीति निर्माणमा जुटिरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको माहोल औपचारिक रूपमा सुरु भएको छ भने निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचन सम्पन्न गराउने तयारीमा निर्वाचन प्रशासन जुटेको छ ।