मधेश प्रदेश सरकारलाई पूर्णताः ६ नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

जनकपुरधाम, १६ पुष । मधेश प्रदेश सरकारमा नवनियुक्त ६ जना मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मधेश प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधान बमोजिम नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार नियुक्त भएका मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्न शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै लामो समयदेखि प्रतीक्षित मन्त्रिपरिषद् विस्तार पूरा भएसँगै मधेश प्रदेश सरकारले औपचारिक रूपमा पूर्णता पाएको छ ।
शपथ ग्रहण गर्ने मन्त्रीहरूमा मनिष कुमार सुमन श्रम तथा यातायात मन्त्री, राजकुमार गुप्ता भौतिक पूर्वाधार तथा विकास मन्त्री, शङ्करप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, श्यामप्रसाद पट्टेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, बसन्त कुसवाहा खेलकुद तथा समाज कल्याण मन्त्री तथा फकिरा महतो गृह, सञ्चार तथा कानून मन्त्री पदमा नियुक्त भएका छन् ।
समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामअशिष यादव, प्रदेश सरकारका वर्तमान मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
शपथग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका १२ वटै मन्त्रालयले नेतृत्व पाएको बताए । ‘आजबाट मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । अब प्रदेश सरकार नीति निर्माण, विकास र जनताका समस्या समाधानतर्फ अझ प्रभावकारी रूपमा अघि बढ्नेछ,’ मुख्यमन्त्री यादवले भने ।

नवनियुक्त मन्त्रीहरूले समेत प्रदेशको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि सुधार, वातावरण संरक्षण, खेलकुद प्रवद्र्धन तथा आन्तरिक सुरक्षा र कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिने उनीहरूको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

