जनकपुरधाम, १५ पुष । नेपाली कांग्रेसका नेता जीवनाथ चौधरीले पार्टीभित्र समानुपातिक सांसद छनोट प्रक्रियामा नातावाद हावी हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको एक लामो टिप्पणीमा उनले प्रतिनिधिसभा सदस्य चयनमा योग्यता, योगदान र बलिदानभन्दा पारिवारिक नातालाई प्राथमिकता दिइएको आरोप लगाउँदै यसले लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर प्रश्न उठाएको जिकिर गरेका छन् ।

चौधरीले कांग्रेसका शीर्ष नेता विमलेन्द्र निधिको नाम उल्लेख गर्दै अघिल्लो प्रतिनिधिसभामा निधि स्वयं समानुपातिक सांसद बनेको र यसपालि आफ्नै भान्जी निनु कर्णलाई मधेशी महिला कोटातर्फ समानुपातिक बन्द सूचीको पहिलो स्थानमा राखेर सांसद बन्ने सुनिश्चित टिकट दिलाइएको दाबी गरेका छन् ।

साथै, नेता निधि प्रत्यक्षतर्फ निर्वाचन लड्दै रहेकाले उनको जित पनि सुनिश्चित देखिएको उल्लेख गर्दै उनले दुवै मामा भान्जीलाई व्यक्तिगत रूपमा बधाई तथा शुभकामनाको शब्दमार्फत कटाक्ष गरेका छन् ।

चौधरीले यो विषय व्यक्तिविशेषको आलोचना नभई प्रणालीगत समस्याको प्रश्न भएको बताएका छन् । ‘यदि नेपालको संविधानले यस्तै किसिमको समानुपातिक प्रणालीको परिकल्पना गरेको हो, जहाँ नाता र सम्बन्ध नै मुख्य योग्यता बन्ने हो भने यस्तो समानुपातिक प्रणाली खारेज हुनुपर्छ,’ उनले लेखेका छन् ।

उनको पोस्टको सबैभन्दा भावुक र कडा अंशमा उनले प्रजातन्त्रका लागि जीवन अर्पण गरेका तर अवसरबाट वञ्चित गरिएका पुराना संघर्षशील नेताहरूको अवस्था उठान गरेका छन् ।

चौधरीले विमलेन्द्र निधिसँगै जेल नेल बसेका, लठी खाएका, यातना सहेका र लोकतन्त्रका लागि जीवन समर्पण गरेका ललन चौधरी, प्रफुल्ल राज घिमिरे, राज किशोर सिंह, रामभरत साह, वैद्यनाथ साह, धीरेन्द्र मोहन झा, निर्मल चौधरी, देवचन्द्र झा, अनिता श्रीवास्तव, दिगम्बर राय, शम्भुनाथ झा मात्र नभई नेवि नदाफ, सोनेलाल पासवान, महावीर शर्मा, अखिलानन्द श्रीवास्तव, युगेश्वर शर्मा, भुवनेश्वर महासेठ र बलभद्रलाल कर्णजस्ता प्रजातन्त्र सेनानीहरूले जीवनभर लोकतन्त्रका लागि संघर्ष गरे पनि उनीहरू र उनीहरूका सन्तानले केही पनि नपाएको जिकिर गरेका छन् ।

‘आज ती नेताहरूका छोराछोरी र श्रीमतीहरू गाँस, बास र कपासको अभावमा जीवन बिताइरहेका छन्,’ चौधरीले लेखेका छन्, ‘तर, तिनको अवस्था बुझ्ने, सोधपुछ गर्ने नेता आज भेटिँदैन ।’ उनका अनुसार त्यस्ता पीडित परिवारहरूको पीडा कुनै पनि बन्द सूचीमा अटेन ।

चौधरीले निनु कर्णको व्यक्तिगत क्षमता र भविष्यप्रति शुभेच्छा प्रकट गर्दै भनेका छन्, ‘यहाँ प्रश्न व्यक्तिको नभई प्रणालीको हो ।’ उनका अनुसार योग्यता, योगदान र बलिदानभन्दा नाता सम्बन्ध ठूलो बन्नु नै कार्यकर्ताका लागि सबैभन्दा पीडादायक अवस्था हो ।

उनले नेपाली कांग्रेसका संस्थापक नेता बी.पी. कोइरालाको भनाइ स्मरण गर्दै कार्यकर्ताको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । बी.पी.को भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास ।’

चौधरीले प्रश्न गरेका छन्—आज कांग्रेसका कार्यकर्ता के बन्ने? इतिहास बनाउने कि इतिहासमा प्रयोग भएर हराउने?

उनको यो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ। धेरैले समानुपातिक प्रणालीमा देखिएको नातावाद र कृपावादमाथि प्रश्न उठाउँदै चौधरीको भनाइसँग सहमति जनाएका छन् ।