जनकपुरधाम, १५ पुष । नेपाली कांग्रेस मधेश प्रदेश स्वास्थ्य विभागले प्रदेशको जनस्वास्थ्यलाई केन्द्रमा राख्दै मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीसमक्ष विभिन्न दीर्घकालीन स्वास्थ्य समस्याबारे ध्यानाकर्षण गराएको छ ।

प्रदेशमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको भेटघाट तथा छलफलमा अस्पताल सेवा विस्तारदेखि दीर्घरोगीको संरक्षणसम्मका विषय उठान गरिएको हो ।

स्वास्थ्य विभागका प्रतिनिधिहरूले विशेषगरी सर्लाही र महोत्तरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा र आवश्यक विशेषज्ञ सेवाहरू तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् । दुर्गम र ग्रामीण क्षेत्रका बिरामीहरू उपचारका लागि बाहिर जान बाध्य हुने अवस्थालाई अन्त्य गर्न यी सेवाहरू अत्यावश्यक भएको कांग्रेसको ठहर छ । यस विषयमा मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीले यथाशीघ्र डायलाइसिस तथा विशेषज्ञ सेवा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको विभागले जनाएको छ ।

छलफलका क्रममा प्रदेशस्तरीय क्यान्सर अस्पताल निर्माणको आवश्यकता पनि उठाइएको थियो । बढ्दो क्यान्सर रोगीको संख्यालाई मध्यनजर गर्दै दीर्घकालीन उपचार, परीक्षण र परामर्श एउटै स्थानबाट उपलब्ध गराउन प्रदेशस्तरीय क्यान्सर अस्पताल अपरिहार्य भएको बताइएको छ । साथै मधुमेह, मिर्गौला, मुटु लगायत दीर्घकालीन रोगबाट पीडित बिरामीका लागि दीर्घकालीन नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा समेत ध्यानाकर्षण गराइएको छ ।

दीर्घकालीन रोगीहरूलाई दिइँदै आएको आर्थिक तथा सेवा सहयोगलाई अझ व्यवस्थित, न्यायोचित र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । सहयोग वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक लाभग्राहीसम्म सेवा पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य सेवाको पहुँच कमजोर रहेका समुदाय र विपन्न वर्गलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने सुझाव कांग्रेस स्वास्थ्य विभागले अघि सारेको छ ।

मुख्यमन्त्री तथा स्वास्थ्य मन्त्रीले प्रदेशको जनस्वास्थ्य सुदृढीकरण सरकारको प्राथमिकता रहेको स्पष्ट गर्दै उठाइएका विषयहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेश स्वास्थ्य विभागले सरकारको सकारात्मक र जिम्मेवार प्रतिबद्धताको स्वागत गर्दै यी पहलहरू कार्यान्वयनमा आए नागरिकले प्रदेशमै गुणस्तरीय उपचार सेवा पाउने र दीर्घकालीन रोगीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेको छ ।