मधेश सरकारलाई पूर्णता दिने तयारी, बुधबार ६ मन्त्री नियुक्त हुँदै

जनकपुरधाम, १५ पुष । मधेश प्रदेश सरकारले बुधबार मन्त्रिपरिषद् विस्तार गरी सरकारलाई पूर्णता दिने तयारी गरेको छ ।
सरकार गठन भएको करिब एक महिनापछि रिक्त रहेका मन्त्रालयहरूमा मन्त्री नियुक्त गर्न लागिएको हो ।
प्रदेश सरकारको कामकारबाहीलाई प्रभावकारी र गतिशील बनाउन मन्त्रिपरिषद् विस्तार अपरिहार्य बनेको सरकारको भनाइ छ ।
हाल मधेश प्रदेश सरकारअन्तर्गतका ६ वटा मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् । मन्त्री नहुँदा नीति निर्माण, कार्यक्रम कार्यान्वयन तथा प्रशासनिक निर्णयमा ढिलाइ भइरहेको भन्दै सत्तारुढ दलहरूले मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकतामा राखेका हुन् । यही कारण बुधबार नै सबै रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गरी मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्रिपरिषद् विस्तारका विषयमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच अन्तिम चरणको छलफल भइरहेको छ । मन्त्रालय बाँडफाँट, दलगत प्रतिनिधित्व र मन्त्री चयनबारे सहमति जुटाउने प्रयास अन्तिम चरणमा पुगेको बताइएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्तारुढ गठबन्धनभित्र रहेका दलहरूबीच सहमतिको टुंगो लगाइसकेपछि बुधबार नै नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गराउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार सबै रिक्त मन्त्रालयमा गठबन्धन दलहरूबाटै मन्त्री नियुक्त गरिनेछ ।
प्रदेश सरकारका अनुसार मन्त्रिपरिषद् विस्तारपछि बजेट कार्यान्वयन, विकास आयोजनाको गति, सेवा प्रवाह र प्रशासनिक निर्णय प्रक्रिया थप प्रभावकारी हुने विश्वास गरिएको छ । पछिल्लो समय मन्त्रालयहरू रिक्त हुँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिएको ढिलाइप्रति विपक्षी दल तथा सरोकारवालाहरूले समेत आलोचना गर्दै आएका थिए ।
मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकार अब पूर्ण क्षमताका साथ काममा जुट्ने दाबी गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

