रौतहट, १४ पुष । नक्कली कागजपत्र बनाएर जग्गा हडप्ने तथा खोटा मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार खोटा मुद्रा सम्बन्धी कसुरमा संलग्न तीन जना र संगठित किर्ते तथा ठगी प्रकरणमा संलग्न दुई जना गरी कुल पाँच जना आरोपितलाई अनुसन्धानपछि अदालत पेस गरिएको थियो । अदालतले प्रारम्भिक सुनुवाइपछि उनीहरूलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार खोटा मुद्रा सम्बन्धी कसुरमा भारतको बिहार राज्य, मोतिहारी निवासी २३ वर्षीय जयप्रकाश कुमार, रौतहट बौधीमाई नगरपालिका घर भई हाल देवाही गोनाही बस्दै आएका २९ वर्षीय गेनालाल राउत पटेल र २० वर्षीय अजय पटेल पक्राउ परेका हुन् । उनीहरूलाई गत मंसिर १६ गते ईशनाथ नगरपालिका–४ लतमरी क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि खोटा मुद्रा सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गरिएको थियो । अनुसन्धानका क्रममा खोटा मुद्रा कारोबारमा उनीहरूको संलग्नता पुष्टि भएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको एसपी कार्कीले जानकारी दिए ।

यस्तै, जिल्लामा सार्वजनिक चासोको अर्को संगठित किर्ते र ठगी प्रकरणमा संलग्न दुई जनालाई पनि अदालतले कारागार चलान गरेको छ । कटहरिया नगरपालिका–१ का ४२ वर्षीय रामपुकार महतो कोइरी र मकवानपुरको हेटौंडा उपमहानगरपालिका निवासी ५२ वर्षीय राधाकृष्ण उपाध्यायलाई नक्कली कागजात तयार गरी ठूलो परिमाणको जग्गा हडप्ने आरोपमा पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार केशव प्रसाद पौड्यालको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानमा उनीहरूले कटहरिया नगरपालिका–१ मा रहेको करिब १० बिघा जग्गा हत्याउन अदालतको फैसला र आधिकारिक पत्रहरू समेत किर्ते गरेको खुलेको छ । उनीहरूले २४ कित्तामा फैलिएको ९ बिघा १८ कठ्ठा १५ धुर जग्गा गैरकानुनी रूपमा आफ्नो नाममा दर्ता गराएको तथ्य अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले गत कार्तिक ११ गते पक्राउ गरेको थियो । लिखत किर्ते, ठगी, आपराधिक लाभ तथा विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी अदालतमा पेस गरिएका उनीहरूलाई पनि पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए ।

प्रहरीका अनुसार आर्थिक अपराध, संगठित ठगी र खोटा मुद्रा कारोबारजस्ता गम्भीर अपराधविरुद्ध कडाइका साथ अनुसन्धान अघि बढाइएको छ । यस्ता अपराधमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने भन्दै प्रहरी प्रशासनले सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।