‘ताली बटुल्ने संस्कृतिले समाज बदलिँदैन’

–ज्योति झा
जनकपुरधाम, १४ पुष । सबैभन्दा शक्तिशाली, विशाल र प्रभावशाली शक्ति यदि कुनै छ भने त्यो हो प्रकृति । प्रकृति मानवका लागि वरदान पनि बन्न सक्छ र श्राप पनि । जब मानवले प्रकृतिलाई माया गर्छ, संरक्षण गर्छ र सहअस्तित्वको भावना अपनाउँछ, तब प्रकृति जीवनदायिनी वरदान बन्छ । तर, जब प्रकृतिसँग खेलवाड गरिन्छ, यसको सीमा नाघिन्छ, तब त्यही प्रकृति विनाशको रूपमा प्रकट हुन्छ ।
मानव सभ्यताले आफूलाई अत्यन्त शक्तिशाली ठान्दै आएको छ । प्रविधि, विकास र विज्ञानको घमण्डमा मानिसले प्रकृतिमाथि विजय हासिल गरिसकेको भ्रम पालिरहेको छ । तर, इतिहास साक्षी छ जब प्रकृतिले आफ्नो रौद्र रूप देखाउँछ, तब मानव अस्तित्वसमेत संकटमा पर्छ । भूकम्प, बाढी, पहिरो, महामारी र जलवायु परिवर्तनजस्ता घटनाले मानवको घमण्डलाई पटक पटक चुनौती दिँदै आएका छन् ।
प्रकृति र मानवबीचको सम्बन्ध प्रेम र सम्मानमा आधारित हुनुपर्छ । प्रकृतिको संरक्षण र दिगो उपयोग गर्नु भनेको जीवनलाई जोगाउनु हो । तर, दुर्भाग्यवश आजको मानव विकासको नाममा आफ्नै खुट्टामा बन्चरो हानिरहेको छ । वन विनाश, नदी दोहन, प्रदूषण र अनियन्त्रित औद्योगिकीकरणले भविष्यमा ठूलो संकट निम्त्याइरहेको छ ।
विकास आवश्यक छ । तर, विनाशको मूल्य चुकाएर गरिएको विकास दीर्घकालीन हुँदैन । आज असह्य गर्मी र कठोर जाडो सामान्य बन्दै गएको छ । विगतमा पनि गर्मी–जाडो हुन्थ्यो । तर, न त हीटर थियो, न फ्रिज, न कुलर । त्यसबेला मानिसहरू तुलनात्मक रूपमा स्वस्थ थिए र लामो आयु बाँच्थे ।
आज घरैघरले भरिएको शहर छ । सुविधा प्रशस्त छन् । तर, रोग, प्राकृतिक प्रकोप र असुरक्षा पनि त्यतिकै बढेका छन् । आखिर किन? वनजंगल खनिए, पहाड काटिए, सडक विस्तार भए । विकासका नाममा बस्ती जोडिए, शहर फैलियो । तर, त्यससँगै कति जनावर र चराचुरुङ्गी घरविहीन भए भन्ने प्रश्न गम्भीर रूपमा उठेन । रुख काटेर फर्निचर बनाइयो, ढोका बनाइयो, महल ठड्याइयो । तर, ती रुखले दिने अक्सिजन र कार्बनडाइअक्साइड सन्तुलनको मूल्य हामीले बुझ्न सकेनौँ ।
घर र महल त बने तर, प्रश्न उही छ, ‘के त्यही घरभित्र स्वस्थ जीवन बाँच्ने मानिस पनि चाहिएको छैन?’ आज सामाजिक सञ्जालमा हरेक दिन नयाँ नयाँ ‘अभियान’ देखिन्छ । कोही प्लास्टिकमुक्त अभियानमा, कोही सरसफाइमा, कोही पोखरी सौन्दर्यकरणमा ।
भिडियो पोस्ट हुन्छ, ताली बज्छ, प्रशंसा बर्सिन्छ । तर, गम्भीर प्रश्न उठ्छ—अभियानको वास्तविक परिणाम कहाँ छ? के केवल केही घण्टाको कार्यक्रम र भिडियो बनाएर मान्छे अभियानी भइहाल्ने युग आएको हो?
हामी वर्षौंदेखि “प्लास्टिकमुक्त समाज” भन्ने नारा सुनिरहेका छौँ । तर,प्लास्टिकमुक्त समाज आज पनि भाषणमै सीमित छ । डम्पिङ साइट उस्तै छ, नदी दूषित नै छन्, शहर अव्यवस्थित नै छ । समस्या समाधानभन्दा नारा उत्पादन बढी भइरहेको यथार्थ देखिन्छ ।
राजनीति, नेतागिरी र कुर्सी तबसम्म अर्थपूर्ण हुन्छन्, जब नागरिक सुरक्षित र स्वस्थ हुन्छन् । तर,आज सामाजिक अभियान, राजनीति र एनजीओका कामहरू पनि कतिपयका लागि पेशा र पब्लिसिटीको माध्यम बन्दै गएका छन् ।
देशभर एनजीओको संख्या दिनदिनै बढिरहेको छ । दहेज प्रथा अन्त्य, महिला हिंसा अन्त्य, शिक्षा, वातावरण संरक्षण, प्लास्टिकमुक्त समाज । उद्देश्य सुन्दा आकर्षक छन् । तर,अवस्था किन उस्तै छ? किन ती नाममा बजेट दुरुपयोग र सीमित व्यक्तिको आर्थिक लाभको चर्चा बारम्बार उठ्छ?
साँचो कुरा के हो भने जब कसैले निस्वार्थ रूपमा काम गर्छ, त्यसको प्रभाव देखिन्छ । त्यो प्रभाव लुक्दैन । तर,आजको समस्या पनि लुकेको छैन । हामी परिणामभन्दा प्रचारमा रमाइरहेका छौँ । प्रकृति प्रेमी बन्ने हो भने साँच्चै बनौँ । अभियानी बन्ने हो भने काम गर्ने ठाउँ र परिणाम दिने बाटो खोजौँ । केवल भिडियो बनाउने, सामाजिक सञ्जालमा देखिने र ताली बटुल्ने संस्कृतिले समाज बदलिँदैन ।
अब प्रश्न स्पष्ट छ, हामीलाई अभियान चाहिएको हो कि परिवर्तन? प्रचार चाहिएको हो कि परिणाम? प्रकृतिको रक्षा गर्नु भनेको मानव अस्तित्वको रक्षा गर्नु हो । यस सत्यलाई स्वीकार गर्नु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो ।











तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

