संघर्षशील युवा साफी एमबिबिएस छात्रवृत्तिमा सफल, कांग्रेस नेतृ थापाबाट आर्थिक सहयोग

सिरहा, १४ पुष । सिरहा जिल्लाको बरियारपट्टी गाउँका सत्यनारायण साफीले आर्थिक अभाव र कठिन परिस्थितिका बाबजुद नेपाली युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।
दैनिक ज्यालादारी मजदुरी गर्दै आफ्नो परिवारको जीविका चलाउँदै आएका साफीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन हासिल गर्ने सफलता प्राप्त गरेका छन् ।
आर्थिक चुनौती, सीमित स्रोत र कठिन परिस्थितिका बाबजुद पनि अध्ययनप्रतिको अठोट, निरन्तर मेहनत र धैर्यले साफीलाई चिकित्सक बन्ने लक्ष्यमा अघि बढाएको हो ।
उनको असाधारण सफलता कदर गर्दै नेपाली कांग्रेस मधेशकी युवा नेत्री शर्मिला थापाले साफीलाई १ लाख ५ हजार आर्थिक सहयोग प्रदान गरेकी छन् ।
सहयोग वितरण समारोहमा थापाले साफीको साहस, समर्पण र निरन्तर संघर्षको सम्मान गर्दै भविष्यमा अझ सशक्त रूपमा अघि बढ्न हौसला प्रदान गर्ने उद्देश्य रहेको बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ता, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादव, वडा नं. ३ का अध्यक्ष विनोदकुमार यादव, वडाअध्यक्ष राम खेलावन दास, प्राथमिक विद्यालय शिक्षक देवप्रसाद यादव, स्थानीय युवा नेता सुमनकुमार यादव, जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसी लगायत समाजसेवीहरू उपस्थित थिए ।
साथै स्थानीय बुद्धिजीवी, शिक्षक र अन्य समाजसेवीहरूले पनि साफीको उपलब्धिमा खुशी व्यक्त गर्दै उनलाई शुभकामना दिएका थिए ।
साफीले आफ्नो संघर्ष र सफलता मार्फत स्थानीय युवा पुस्तालाई शिक्षा र मेहनतको मूल्य बुझ्न प्रेरित गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
उनका उदाहरणले मधेशका अन्य युवालाई पनि कठिन परिस्थितिमा हार नमान्न र लक्ष्य प्राप्तिका लागि अठोट गर्न उत्प्रेरित गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

