सिरहासहित तराई मधेशमा चिसोको कहर, जनजीवन प्रभावित

-श्याम कुमार ठाकुर
सिरहा, १४ पुष । तराई मधेशमा पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु र अत्यधिक चिसो बढ्दै जाँदा सिरहासहित आसपासका जिल्लामा जनजीवन प्रभावित भएको छ ।
बिहान र बेलुकाको समयमा बाक्लो कुहिरो, चिसो हावा र घट्दो तापक्रमका कारण दैनिक आवागमन, मजदुरी, व्यापार–व्यवसाय तथा विद्यालय सञ्चालनमा समेत असर परेको छ ।
चिसोको प्रत्यक्ष प्रभाव सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र विपन्न वर्गमा देखिएको छ । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रुघाखोकी, ज्वरो, दम, निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या लिएर उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अत्यधिक चिसोको अवस्थालाई ध्यानमा राख्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले बालबालिका, वृद्धवृद्धा र विपन्न नागरिकलाई न्यानो कपडाको व्यवस्था गर्न स्थानीय तह र सरोकारवाला निकायलाई निर्देशन दिइएको जानकारी दिए ।
‘अहिले चिसो अत्यधिक बढेको अवस्था छ । अनावश्यक रूपमा बिहान र बेलुकाको समयमा बाहिर ननिस्कन अनुरोध गर्दछु,’ उनले भने, ‘विशेष जोखिममा रहेका वर्गको सुरक्षाका लागि सबै निकाय सचेत भएर लाग्नुपर्छ ।’
स्थानीय तहहरूले पनि चिसोबाट जोगिन राहत वितरण र सचेतनामूलक कार्यक्रम अघि बढाएका छन् । विभिन्न गाउँपालिका तथा नगरपालिकाले न्यानो कपडा, कम्बल वितरणसँगै स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
एक स्थानीय तहका प्रतिनिधिले भने, ‘चिसोका कारण विपन्न तथा असहाय नागरिकहरू बढी प्रभावित भएका छन् । गाउँपालिकाको तर्फबाट न्यानो कपडा वितरण तथा स्वास्थ्य सचेतना कार्यक्रमलाई प्राथमिकता दिएका छौं ।’
कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेलले नगरपालिकाले जोखिममा रहेका नागरिकलाई केन्द्रमा राखेर सहयोगको तयारी गरेको बताए ।
‘बालबालिका, वृद्धवृद्धा र सडकमा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखेर सहयोग गर्दैछौं,’ उनले भने, ‘सबै नगरवासीलाई न्यानो कपडा प्रयोग गर्न र चिसोबाट बच्न अनुरोध गर्दछु ।’

चिसो बढेसँगै मिर्चैया अस्पतालमा पनि बिरामीको चाप बढेको छ ।अस्पतालका चिकित्सक डा. विनोद मण्डलका अनुसार पछिल्ला दिनमा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ ।
‘चिसोको असरबाट बच्न न्यानो कपडा लगाउने, तातो खानेकुरा सेवन गर्ने र स्वास्थ्यमा समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ,’ उनले सुझाव दिए ।
मौसमविद्हरूका अनुसार अझै केही दिन तराई मधेशमा चिसो र हुस्सुको प्रभाव कायम रहने सम्भावना छ । यसले जनजीवन थप प्रभावित हुन सक्ने भएकाले प्रशासन, स्वास्थ्यकर्मी र स्थानीय तहको समन्वयमा राहत तथा सतर्कता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

