जनकपुरधाम, १४ पुष । मधेश प्रदेशमा लगातारको शितलहर र चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ ।

पुषको पहिलो सातादेखि तापक्रम लगातार घट्नुका साथै बाक्लो कुहिरो र चिसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको हो ।

शितलहरका कारण सबैभन्दा बढी असर बालबालिका, बृद्धबृद्धा तथा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मजदुरहरूमा परेको छ ।

बिहान र साँझको समयमा चिसो अत्यधिक बढ्दा मजदुरहरू काममा निस्कन नसक्ने अवस्था सिर्जना भएको छ भने काम नपाउँदा उनीहरूको दैनिकी झन् कठिन बनेको छ ।

स्थानीयका अनुसार चिसोका कारण मजदुर बस्तीहरूमा बिरामी पर्नेको संख्या पनि बढ्दै गएको छ । चिसो बढेसँगै बजार क्षेत्रहरू सुनसान देखिन थालेका छन् । व्यापार–व्यवसाय प्रभावित हुँदा साना व्यापारीहरू समेत समस्यामा परेका छन् ।

कुहिरो र शितलहरका कारण सवारी आवागमनमा समस्या देखिएको छ भने बिहानैदेखि घाम नलाग्दा जनजीवन सुस्त बनेको छ ।

शितलहरको प्रभाव बढ्दै गएपछि मधेशका विभिन्न स्थानीय तहहरूले धमाधम विद्यालयहरूमा विदा दिने निर्णय गरेका छन् । बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै अधिकांश पालिकाले दुईदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । यद्यपि विद्यालय बन्द भए पनि अभिभावकहरू बालबालिकाको स्वास्थ्य र सुरक्षालाई लिएर चिन्तित देखिन्छन् ।

स्थानीयवासीहरूले भने चिसो बढ्दै गए पनि स्थानीय तहको तयारी पर्याप्त नरहेको गुनासो गरेका छन् । उनीहरूका अनुसार कतिपय पालिकाले दाउरा वितरणबाहेक अन्य प्रभावकारी राहत तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् । न्यानो कपडा, कम्बल तथा अस्थायी न्यानो केन्द्र जस्ता व्यवस्थामा स्थानीय सरकार उदासीन देखिएको स्थानीयको आरोप छ ।

चिसोका कारण दैनिक जीवनयापन नै कठिन बन्दै गएको भन्दै विपन्न, असहाय तथा ज्यालादारी मजदुरहरू राहतको प्रतीक्षामा छन् । ‘काम छैन, चिसो बढेको छ, न्यानो कपडा किन्न पनि पैसा छैन,’ एक मजदुरले गुनासो गरे ।

उनका अनुसार तत्काल राहत नपाए अवस्था झन् जटिल हुन सक्नेछ । मौसमविद्हरूले आगामी केही दिन अझै चिसो र शितलहरको प्रभाव रहने चेतावनी दिएका छन् । यस्तो अवस्थामा स्थानीय सरकार, प्रदेश सरकार तथा सरोकारवाला निकायहरूले समयमै प्रभावकारी राहत र संरक्षणका कार्यक्रम अघि बढाउनुपर्ने स्थानीयको माग छ ।