व्याहुत सेवा समितिको नेतृत्वका लागि प्रतिस्पर्धा चर्किँदै, शंकर साह अध्यक्ष पदको दौडमा

जनकपुरधाम, १४ पुष । जनकपुरधाममा विभिन्न सामाजिक कार्यमा सक्रिय व्याहुत सेवा समितिको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुन केही दिन मात्रै बाँकी रहँदा संगठनभित्र राजनीतिक सरगर्मी बढ्न थालेको छ ।
चुनाव नजिकिँदै जाँदा नेतृत्व लिन इच्छुक उम्मेदवारहरू आ–आफ्नो स्तरबाट तयारीमा जुटिसकेका छन् ।
यसैक्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई लामो समयदेखि सामाजिक सेवामा सक्रिय शंकर साहले पनि व्याहुत सेवा समितिको अध्यक्ष पदका लागि उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गरेका छन् ।
साहले स्वजातीय संस्था व्याहुत सेवा समितिको सर्वाङ्गीण विकासका लागि स्पष्ट योजना र दृष्टिकोण रहेकाले आफू नेतृत्वमा रहेर काम गर्न इच्छुक रहेको बताए ।
उनले यसअघि संस्थाको नेतृत्व सम्हालेका पूर्वअध्यक्षहरूले समितिको विकासका लागि गरेको योगदानको खुलेर प्रशंसा गरे ।
‘पूर्व अध्यक्षहरूले खुन पसिना एक गरेर संस्थालाई यहाँसम्म ल्याउनुभएको छ, त्यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै केही नयाँ काम गर्न चाहन्छु,’ साहले भने ।
साहका अनुसार व्याहुत समाजभित्र रहेका गरिब तथा विपन्न परिवारको आर्थिक सशक्तीकरण, उनीहरूका छोराछोरीको विवाहमा आउने आर्थिक समस्यामा सहयोग, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहजीकरण गर्ने योजना उनको प्राथमिकतामा छ ।
यी विषयलाई संस्थागत कार्यक्रमका रूपमा अगाडि बढाउने तयारी आफूले गरिसकेको उनले दाबी गरे ।
‘संस्थालाई पूर्ण रूपमा सेवाभावका साथ अगाडि बढाउने मेरो सोच हो,’ साहले भने, ‘समाजका हरेक तप्काका व्यक्तिलाई आवश्यक परेको बेला सहयोग पुग्ने खालका कार्यक्रम सञ्चालन गर्ने मेरो प्रतिबद्धता छ ।’
व्याहुत सेवा समितिमा उनी नयाँ अनुहार भने होइनन् । यसअघि उनी समितिको कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । साथै, हाल उनी प्रकाशक महासंघ नेपालका अध्यक्षसमेत हुन् ।
सामाजिक नेतृत्वको अनुभवका रूपमा उनले जनकपुर जेसिजको उपाध्यक्ष पदमा रहेर समेत काम गरिसकेका छन् ।
यसअघिल्लो निर्वाचनमा पनि साहले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । तर, पर्याप्त पूर्वतयारी बिना चुनावी प्रतिस्पर्धामा होमिएकाले पराजय भोग्नुपरेको अनुभव उनले सुनाए ।
‘त्यस बेला तयारी कमजोर भयो, त्यसको परिणाम पराजयका रूपमा आयो,’ उनले भने ।
तर, यसपटक भने परिस्थिति फरक रहेको साहको भनाइ छ । पूर्वअध्यक्षहरू तथा स्वजातीय अगुवाहरूसँगको छलफल, सल्लाह र समन्वयपछि उम्मेदवारी दिने तयारी गरेकाले आफू यसपटक विजयी हुनेमा विश्वस्त रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

