हवाई फायरपछि दुई तस्कर पक्राउ, ३३० किलो गाँजा बरामद

जनकपुरधाम, १३ पुष । मोरङमा प्रहरीले हवाई फायर गरी गाँजा तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट प्रहरीले ३३० किलो गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब साढे १० बजे जहदा गाउँपालिका–२ तारेथगमाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका डिएसपी कोपिला चुडालले भारततर्फ गाँजा लैजाँदै गरेका अवस्थामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
बोरामा गाँजा बोकेर सीमा क्षेत्र हुँदै भारततर्फ जाँदै गरेका उनीहरू प्रहरी देखेपछि भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत अररिया जिल्ला चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।
प्रहरीले बरामद गाँजा, पक्राउ परेका व्यक्ति र तस्करी सञ्जालबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

