अत्यधिक शीतलहरका कारण महोत्तरीका विद्यालय बन्द

जनकपुरधाम, १३ पुष । लगातारको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन कष्टकर बन्दै गएपछि महोत्तरी जिल्लाका सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जिल्लाभरका १५ वटै स्थानीय तहले अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेको भन्दै अस्थायी रूपमा पठनपाठन स्थगित गरेका हुन् ।
स्थानीय तहहरूले जारी गरेको विज्ञप्तिमा अत्यधिक चिसो मौसमका कारण विद्यालय जाने उमेरका बालबालिका, विशेषगरी साना कक्षामा अध्ययनरत विद्यार्थीहरू बढी प्रभावित भएको उल्लेख गरिएको छ ।
सोही कारण हाललाई दुईदेखि तीन दिनसम्म विद्यालय बिदा दिइएको जनाइएको छ । दिइएको बिदा बर्खे बिदाबाट कटौती हुनेगरी व्यवस्थापन गरिने स्थानीय तहहरूले स्पष्ट पारेका छन् ।
पछिल्ला केही दिनयता तराई–मधेश क्षेत्रमा शीतलहरसँगै चिसो हावा चल्न थालेको छ भने बिहान र साँझ बाक्लो कुहिरो तथा हुस्सु लाग्ने क्रम बढेको छ । यसले दैनिक जनजीवन प्रभावित बनाएको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू अत्यधिक जाडोबाट बढी जोखिममा परेका छन् ।
मौसमको अवस्था सामान्य नहुँदासम्म विद्यालय पुनः सञ्चालनबारे निर्णय लिने स्थानीय तहहरूले जनाएका छन् । साथै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई न्यानो कपडा लगाउन र स्वास्थ्यमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

