मधेश केन्द्रित दलहरूको निर्णायक संघर्ष सप्तरी–२ मा

जनकपुरधाम, १३ पुष । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेशको राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ ।
यसपटक पनि सप्तरी क्षेत्र नम्बर-२ मधेश केन्द्रित दलहरूको राजनीतिक शक्ति परीक्षणको केन्द्र बन्ने देखिएको छ । कारण, यही क्षेत्रमा मधेशका प्रभावशाली दलका अध्यक्षहरू नै आमनेसामने हुने सम्भावना बलियो हुँदै गएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी–२ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच कडा प्रतिस्पर्धा भएको थियो । सो चुनावमा डा. राउतले यादवलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै संसद प्रवेश गरेका थिए । यही पुरानो प्रतिस्पर्धा पुनः दोहोरिने संकेत देखिन थालेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा नयाँ दर्ता भएका दलदेखि पुराना स्थापित दलसम्मले उम्मेदवार छनोट तथा सिफारिस प्रक्रिया तीव्र पारेका छन् । अधिकांश दलहरूले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारका लागि सप्तरीका चारै निर्वाचन क्षेत्रबाट नाम सिफारिस गरिसकेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले सप्तरी क्षेत्र नम्बर-२ बाट पार्टी अध्यक्ष राजेन्द्र महतोसहित चार जनाको नाम सिफारिस गरेको छ । पार्टीका अनुसार महतोको नाम पहिलो प्राथमिकतामा राखिएको छ । त्यसपछि महासचिव केशव झा, संविधानसभा सदस्य महेश यादव र रिणा झाको नाम क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा सिफारिस गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर-३ बाट पूर्व सांसद चन्द्रकान्त चौधरी र युवा नेता गजेन्द्र मण्डलको नाम अघि सारिएको छ । बाँकी दुई क्षेत्रमा उम्मेदवार तीन–चार दिनभित्र टुंगो लगाइने राष्ट्रिय मुक्ति पार्टी सप्तरीका जिल्ला अध्यक्ष दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।
गत निर्वाचनमा विजयी जनमत पार्टीले यसपटक पनि सप्तरी–२ बाट पार्टी अध्यक्ष डा. सीके राउतको एकल नाम सिफारिस गरेको छ । पार्टीका जिल्ला इन्चार्ज रामगमन साहका अनुसार राउतको नाम जिल्लाका चारै निर्वाचन क्षेत्रबाट सिफारिस भए पनि क्षेत्र नम्बर-२ बाट भने एकल रूपमा अघि सारिएको हो । सप्तरी डा. राउतको गृहजिल्ला भएकाले पनि यहाँ उनको राजनीतिक प्रभाव बलियो मानिन्छ ।
जसपा नेपालले पनि क्षेत्र नम्बर-२ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम एकल रूपमा सिफारिस गरेको छ । जिल्ला अध्यक्ष केदार यादवका अनुसार शुक्रबार रातिसम्म चलेको क्षेत्रीय समितिको बैठकले यादवलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
अन्य निर्वाचन क्षेत्रहरूको भेला पनि दुई–तीन दिनभित्र सम्पन्न हुने र त्यहाँबाट पनि यादवकै नाम सिफारिस हुने सम्भावना रहेको उनले बताए ।
उपेन्द्र यादवको जन्म जिल्ला पनि सप्तरी नै हो । यदि जिल्लास्तरबाट भएका सिफारिसहरू अन्तिम रूपमा कायम रहे यसपटक सप्तरी–२ मा जनमत पार्टी, जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्षहरूबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।
यद्यपि जनमत पार्टी बाहेक अन्य मधेश केन्द्रित दलहरूबीच चुनावी तालमेलको प्रयास जारी रहेकाले अन्तिम समीकरणमा परिवर्तन हुन सक्ने सम्भावना पनि कायमै छ ।
यसैबीच, नेपाली कांग्रेसले पनि सप्तरीका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर-१ बाट रामदेव साह, शत्रुधनप्रसाद यादव, दुर्गाप्रसाद भट्टराई, लक्ष्मीदेवी यादव र दीपककुमार गुप्ताको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर-२ बाट ध्रुव देव, डा. अनिल झा, रञ्जित कर्ण, रामकुमार यादव, शैलेन्द्र मण्डल, प्रवीण सिंह र अम्बुज सिंहको नाम सिफारिस भएको कांग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।
कांग्रेसले क्षेत्र नम्बर-३ बाट दिनेशकुमार यादव, शिवनारायण चौधरी, श्रीप्रसाद राउत र नवोदित चौधरीको नाम अघि सारेको छ भने क्षेत्र नम्बर-४ बाट किरण भगत, तेजुलाल चौधरी, अशोक साह र सुरेन्द्र यादव सिफारिसमा परेका छन् ।
नेकपा एमालेले भने पुस २६ पछि मात्रै उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्ने जनाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, आम जनता पार्टी, लोसपा नेपाल, उज्यालो नेपाल पार्टी, नेपाली जनता पार्टीलगायत दलहरूले पनि केही दिनभित्रै उम्मेदवार टुंग्याइने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

