माघ २२ देखि सातौँ जनकपुर साहित्य महोत्सव हुने

जनकपुरधाम, १३ पुष । नव मिथिला फाउण्डेशनले माघ २२ गतेदेखि हुने सातौँ जनकपुर साहित्य महोत्सव २०८२ को तयारीलाई तीव्र बनाएको छ ।
मिथिलाको साहित्य, संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव तीन दिनसम्म जनकपुरधाममा सञ्चालन हुनेछ ।
महोत्सवको एक महत्वपूर्ण अङ्गका रूपमा विद्यालयस्तरीय कविता, वक्तृत्वकला, कथा वाचन तथा अन्तरविद्यालय चित्रकला प्रतियोगिता आयोजना गरिने भएको छ ।
बालबालिकाहरूको सिर्जनशीलता र प्रतिभालाई पहिचान गराउने तथा उनीहरूलाई आफ्नो कला, विचार र अभिव्यक्ति प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता समावेश गरिएको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनका अध्यक्ष अमित कुमार साहका अनुसार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको अडिसन पुष २० गते आइतबार, कविता प्रतियोगिताको अडिसन पुष २१ गते सोमबार, कथा वाचन प्रतियोगिताको अडिसन पनि सोही दिन आयोजना हुनेछ । त्यसैगरी अन्तरविद्यालय चित्रकला प्रतियोगिताको अडिसन २२ गते मंगलबार हुने जानकारी उनले दिए ।
अन्तरविद्यालय प्रतियोगिताबाट छनोट भई विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले महोत्सवको मुख्य मञ्चमा आफ्नो प्रस्तुति दिने अवसर पाउनेछन् ।
अन्तिम प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउण्डेशनले जनाएको छ । अन्तिम चरणमा प्रत्येक विधाबाट छनोट भएका पाँच जनाले महोत्सवको मञ्चमा प्रस्तुति दिनेछन् ।

नव मिथिला फाउण्डेशनको आयोजनामा विगत ६ वर्षदेखि जनकपुर साहित्य महोत्सव हुँदै आएको छ । यसअघि प्रत्येक संस्करणमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुँदै आएकोमा यस वर्षदेखि कविता र कथा वाचन प्रतियोगितालाई पनि औपचारिक रूपमा समावेश गरिएको छ । यी तीनै प्रतियोगिताको अन्तिम चरण महोत्सवकै मञ्चमा सम्पन्न गरिने तयारी गरिएको छ ।
अध्यक्ष साहले जनकपुर साहित्य महोत्सव केवल साहित्यमा सीमित नरहेको स्पष्ट पार्दै भने, ‘हामीले साहित्यलाई बहुआयामिक दृष्टिकोणबाट प्रस्तुत गर्दै आएका छौँ । महोत्सवमा साहित्यसँगै शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कार जस्ता विषयमा छलफल, विचार–विमर्श, बहस, गन्थन–मन्थन तथा एकल प्रवचन हुन्छन् । साथै सांगीतिक सत्रहरू पनि महोत्सवको आकर्षण हुन् ।’
महोत्सवको उद्घाटन माघ २२ गते जनकपुरधामको ऐतिहासिक राम मन्दिर परिसरमा हुनेछ । तीन दिवसीय महोत्सव माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।
यस अवधिमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति जस्ता विषयमा खुला आकाशमुनि प्यानल छलफल तथा अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिनेछन् ।
महोत्सवमा देशभरका प्रतिष्ठित साहित्यकार, लेखक, कलाकार, संगीतकार तथा राजनीतिज्ञहरूको सहभागिता रहने अध्यक्ष साहले जानकारी दिए ।
महोत्सवको मूल उद्देश्य मिथिलाको समृद्ध संस्कृति र सांस्कृतिक धरोहरलाई उजागर गर्नुका साथै देशभरिका साहित्यप्रेमीहरूलाई एकत्रित गर्दै यस क्षेत्रको पर्यटन र सांस्कृतिक प्रवर्द्धनमा टेवा पुर्याउनु रहेको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जनकपुर साहित्य महोत्सवलाई ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ का रूपमा व्याख्या गर्दै यस वर्ष महोत्सवलाई अझ नयाँ र परिस्कृत स्वरूपमा प्रस्तुत गर्ने योजना बनाइएको बताए ।
उनका अनुसार साहित्य र संस्कृतिमार्फत समाजलाई जोड्ने यो महोत्सव मिथिलाको पहिचान स्थापित गर्ने एउटा महत्वपूर्ण माध्यम बन्दै गएको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

