जनकपुरधाम, ११ पुष । जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गाँसिएको रामायण भवनको जीर्णोद्धार प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ ।

वर्षौंदेखि जीर्ण अवस्थामा रहँदै आएको उक्त भवनको संरक्षण र पुनर्जागरणका लागि गुठी संस्थानका प्रमुख शैलेश राज कुंवरको अगुवाइमा स्थलगत निरीक्षण सम्पन्न भएपछि पाँच सदस्यीय प्राविधिक विज्ञ टोली गठन गरिएको हो ।

धार्मिक पर्यटन र सांस्कृतिक सम्पदाका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने रामायण भवन लामो समयदेखि उचित संरक्षण र मर्मतको अभावमा क्षतिग्रस्त हुँदै आएको थियो ।

स्थानीयवासी, संस्कृति प्रेमी तथा विभिन्न संघसंस्थाले पटक पटक संरक्षणको माग गर्दै आए पनि ठोस पहल हुन सकेको थिएन । पछिल्लो पटक गुठी संस्थानको सक्रियतासँगै प्रक्रिया अघि बढेपछि भवनको भविष्यप्रति आशा बढेको छ ।

स्थलगत निरीक्षणपछि गठन गरिएको विज्ञ टोलीमा गुठी संस्थानबाट दुई जना प्रतिनिधि, पुरातत्व विभागबाट एक जना प्राविधिक, पुलचौक इन्जिनियरिङ क्याम्पसका सांस्कृतिक महत्वका विज्ञ पूर्वप्राध्यापक एक जना तथा जनकपुरधाम उपमहानगरपालिकाबाट एक जना विज्ञ सदस्य रहेका छन् ।

पाँच सदस्यीय उक्त टोलीले भवनको वर्तमान अवस्था, संरचनागत मजबुती, ऐतिहासिक मौलिकता तथा संरक्षणका सम्भावित मोडेलबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

गुठी संस्थानका प्रमुख कुंवरले रामायण भवन एउटा संरचना मात्र नभई मिथिला सभ्यता र धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै यसको संरक्षणमा कुनै कसर बाँकी नराखिने बताए ।

‘प्राविधिक अध्ययनको आधारमा मौलिकता जोगाउँदै पुनःनिर्माण वा जीर्णोद्धारको उपयुक्त विकल्प अघि सारिनेछ,’ उनले भने ।

पुरातत्व विभागका प्रतिनिधिले पनि ऐतिहासिक सम्पदाको संरक्षण गर्दा अन्तर्राष्ट्रिय मापदण्ड र स्थानीय सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राखिने स्पष्ट पारे ।

पुलचौक इन्जिनियरिङ क्याम्पसका विज्ञ पूर्वप्राध्यापकले भवनको सांस्कृतिक मूल्य र संरचनागत अवस्थालाई समेटेर दीर्घकालीन संरक्षण योजना आवश्यक रहेको धारणा राखे ।

प्राविधिक टोलीले छिट्टै अध्ययन कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउने र त्यसपछि पुनःनिर्माण वा जीर्णोद्धारको वास्तविक काम सुरु हुने विश्वास गरिएको छ ।

धार्मिक नगरी जनकपुरधामको गौरवका रूपमा रहेको रामायण भवन पुनःजीवित हुने विश्वासका साथ स्थानीयवासी, धार्मिक संघसंस्था तथा संस्कृति प्रेमीहरू यस पहललाई सकारात्मक रूपमा हेरिरहेका छन् ।