खेलकुदले अनुशासन र नेतृत्व विकास गर्छ: सभामुख यादव

जनकपुरधाम, ९ पुष । जनकपुरधाममा बुधबारदेखि अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुभारम्भ भएको छ ।
प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका सभामुख रामअशिष यादवले गरेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले खेलकुदले अनुशासन, नेतृत्व विकास र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान दिने बताए । उनले विद्यार्थीहरूलाई खेलकुदसँगै शिक्षालाई पनि समान प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरे ।
युवाहरूमा समाजभित्र सकारात्मक परिवर्तन ल्याउने ठूलो क्षमता रहेको उल्लेख गर्दै सभामुख यादवले सदैव सकारात्मक पहल गर्नुपर्नेमा जोड दिए ।
आयोजकका अनुसार प्रतियोगितामा जनकपुरधाम र आसपासका क्षेत्रका २४ वटा विद्यालयका टिम सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन खेल मदर टेरेसा स्कुल र याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपबीच सम्पन्न भएको छ ।
गत वर्ष सम्पन्न यही प्रतियोगिताको उपाधि मदर टेरेसा स्कुलले जितेको आयोजकले जनाएको छ ।
प्रतियोगिताले विद्यालयस्तरमा क्रिकेटप्रति रुचि बढाउनुका साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

