जनकपुरधाम, ९ पुष । बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाप्रति रामानन्दीय वैष्णव संघ जनकपुरधामले आक्रोश व्यक्त गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बुधबार तुलसी स्मारकमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त घटनालाई धर्मको आडमा गरिएको अमानवीय तथा मानवता विरोधी अपराधको संज्ञा दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दासले बंगलादेशमा पटकपटक अल्पसंख्यक हिन्दु धर्मावलम्बीहरू लक्षित आक्रमण र हिंसाका घटनाहरू भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नु गम्भीर चिन्ताको विषय भएको बताए ।

उनले दिपुचन्द्र दासको हत्या कुनै एक व्यक्तिमाथिको आक्रमण मात्र नभई समग्र मानव मूल्य, धार्मिक सहअस्तित्व र अल्पसंख्यक अधिकारमाथिको खुला प्रहार भएको उल्लेख गरे ।

संघका अध्यक्ष दासका अनुसार भोलि बिहीबार दिउँसो ३ बजे जानकी मन्दिरको प्राङ्गणबाट विरोध र्‍याली सुरु गरिनेछ । उक्त र्‍याली जनकपुरधामका विभिन्न स्थानमा परिक्रमा गर्दै शान्तिपूर्ण रूपमा सम्पन्न गरिने योजना रहेको उनले जानकारी दिए ।

विरोध कार्यक्रममा हिन्दुधर्मप्रति आस्था राख्ने सम्पूर्ण व्यक्ति, साधुसन्त, सामाजिक अभियन्ता तथा जनकपुरधामवासीलाई सहभागी हुन उनले अपील गरेका छन् ।

महन्थ दासले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको हिंसा अन्तर्राष्ट्रिय मानवअधिकारको समेत गम्भीर उल्लङ्घन भएको भन्दै दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारले कूटनीतिक पहल लिनुपर्ने माग गरे ।

उनले नेपाल सरकारलाई बंगलादेश सरकारसँग औपचारिक रूपमा कुरा उठाई अल्पसंख्यकको सुरक्षाका लागि दबाब दिन आग्रह गरे ।

पत्रकार सम्मेलनमा अध्यक्ष दासले चेतावनी दिँदै भने, ‘यदि बंगलादेशमा हिन्दुहरूमाथि भइरहेका आक्रमण रोकिएनन् भने हिन्दु समाज, साधुसन्त र धार्मिक संघसंस्थाहरू बंगलादेशविरुद्ध सशक्त प्रदर्शन गर्न बाध्य हुनेछन् ।’

उनले शान्तिपूर्ण आन्दोलनमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिने समेत बताए ।

रामानन्दीय वैष्णव संघले उक्त घटनालाई लिएर दुःख व्यक्त गर्दै मृतक दिपुचन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । संघले धार्मिक सहिष्णुता, मानवता र शान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि यस्ता घटनाविरुद्ध आवाज उठाइरहने जनाएको छ ।