जनकपुरधाम, ८ पुष । महोत्तरी जिल्लामा बढ्दो शितलहरको प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले शितलहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, डिभिजन वन कार्यालय तथा सरोकारवाला निकायलाई समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शितलहरबाट प्रभावित नागरिकलाई राहत दिन सहुलियत दरमा दाउरा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालय तथा जिल्ला वन पैदावर आपूर्ति समितिबाट माग अनुसार दाउरा उपलब्ध भइरहेको प्रशासनले जनाएको छ । यसले विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायलाई राहत पुग्ने विश्वास लिइएको छ ।

यस्तै, अति विपन्न तथा आवश्यक परिवारका लागि न्यानो लुगा उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहहरूले लिएका छन् ।

स्थानीय तहमार्फत आवश्यकता अनुसार न्यानो कपडा वितरण तथा व्यवस्थापन भइरहेको र यस कार्यमा गैरसरकारी संस्था तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले शितलहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्लास्थित सम्पूर्ण स्थानीय तह, गैसस, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ ।

प्रशासनले समन्वय र सहजीकरणमार्फत नागरिकलाई सुरक्षित राख्न सबै निकायको साझा प्रयास अपरिहार्य रहेको समेत उल्लेख गरेको छ ।