फरार ११ कैदीबन्दी पक्राउ

सिरहा, ८ पुष । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा देशका विभिन्न बाल सुधार गृह तथा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले फरार कैदीबन्दीहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया पूरा गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार अन्य फरारहरूको खोजी तथा निगरानी पनि निरन्तर जारी छ ।
यसैबीच, सिरहाकै धनगढीमाई नगरपालिका–११ डाबरटोलस्थित चितवा खोला नजिक बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला परेको छ । सो बन्दुक स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय लहानले बरामद बन्दुकको स्रोत, प्रयोग तथा कसले त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीले सुरक्षा सतर्कता बढाउँदै जिल्लाभर शंकास्पद गतिविधिमाथि निगरानी कडा बनाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

