जनकपुरधाम, ८ पुष । मधेश प्रदेशका नवनियुक्त सभामुख रामअशिष यादवले मधेश जनआन्दोलनको संघर्षमा अमूल्य योगदान पुर्‍याएका शहीदका परिवार तथा जिउँदो शहीदलाई सम्मान गरेका छन् ।

जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सभामुख यादवले मधेशको पहिचान, अधिकार र सम्मानका लागि भएको संघर्षलाई कहिल्यै भुल्न नहुने बताएका छन् ।

सम्मान कार्यक्रममा सभामुख यादवले मधेश जनआन्दोलन शहीदहरूको बलिदानकै कारण आज मधेशले संस्थागत राजनीतिक पहिचान पाएको उल्लेख गरे ।

उनले शहीद परिवार र जिउँदो शहीदहरू राज्यका सच्चा अभिभावक भएको भन्दै प्रदेश सरकारले उनीहरूको सम्मान, संरक्षण र जीवनस्तर उकास्न विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि सभामुख यादवले आफ्नो कार्यकालको शुभारम्भ मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सीताराम गौशालामा पुगेर गरेका थिए ।

उनले गौशालामा रहेका गाईहरूलाई रोटी खुवाउँदै सेवा, करुणा र संस्कृतिप्रतिको सम्मानबाट आफ्नो सार्वजनिक जीवनको शुरुवात गरेका हुन् ।

सभामुख यादवले मधेशको धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यलाई आत्मसात गर्दै समावेशी, उत्तरदायी र जनमुखी प्रदेशसभा सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

मधेश जनआन्दोलनका शहीदको सपना साकार पार्न प्रदेशसभा सदैव जनताको पक्षमा उभिने उनको भनाइ थियो ।