थप ३ लाख ९६ हजार राहदानी पुस्तिका आपूर्ति, पुष १५ भित्र हजारौं आवेदकलाई राहदानी वितरण हुने

जनकपुरधाम, ८ पुष । राहदानी अभावको समस्या समाधानतर्फ महत्त्वपूर्ण कदम चाल्दै राहदानी विभागले थप ३ लाख ९६ हजार थान राहदानी पुस्तिका आपूर्ति भएको जनाएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार अन्तरिम अवधिका लागि थप ७ लाख राहदानी पुस्तिका तथा वैयक्तिकरणसम्बन्धी सेवा आपूर्तिका लागि गरिएको सम्झौताअन्तर्गत उक्त संख्याको राहदानी प्राप्त भएको विभागले जानकारी दिएको हो ।
राहदानी पुस्तिका आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा वैयक्तिकरण प्रक्रिया अघि बढाएको जनाउँदै जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका आवेदकको राहदानी समयमै पठाउने तयारी पूरा भएको स्पष्ट पारेको छ ।
विभागका अनुसार जिल्ला/इलाका प्रशासन कार्यालयबाट आवेदन दिएका आवेदकमध्ये कार्तिक १५ गतेसम्म आवेदन दिने सबैको राहदानी यसअघि नै पठाइसकिएको छ । साथै, मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी छपाइ गरी पुष १५ भित्र सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, मङ्सिर १५ पछि आवेदन दिने आवेदकहरूको राहदानी पुष १५ पछि क्रमशः छपाइ गरी पठाइने विभागले जनाएको छ । विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीका हकमा भने साबिककै कार्यतालिकाअनुसार राहदानी छपाइ र वितरण हुने व्यवस्था कायम रहनेछ ।
राहदानी विभागबाट प्रत्यक्ष आवेदन दिन चाहने सेवाग्राहीका लागि मागअनुसार पर्याप्त आवेदन ‘स्लट’ उपलब्ध गराइएको र सामान्यतया दुई कार्य दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागको भनाइ छ ।
राहदानी विभागले सेवाग्राहीलाई निर्धारित समयसीमा र प्रक्रियाबारे जानकारी राखी धैर्यताका साथ सेवा लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

