प्रधानमन्त्री रोजगार कार्यक्रमले डाम्ही टोलमा विकासको गति, कृषि सडक निर्माण तीव्र

जनकपुरधाम, ८ पुष । महोत्तरी गाउँपालिका–३ स्थित डाम्ही टोलमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय श्रमिकहरूको सहभागितामा कृषि सडक निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।
लामो समयदेखि बाटोको अभाव झेल्दै आएका स्थानीय कृषकका लागि यो सडक निर्माणले खेतीपातीदेखि बजारसम्मको पहुँच सहज बनाउने विश्वास लिइएको छ ।

गाउँपालिका कार्यालयका अनुसार कृषकले उत्पादन गरेको अन्न, तरकारी तथा फलफूल सहज रूपमा बजारसम्म पुर्याउन र कृषि सामग्री ढुवानीलाई सरल बनाउने उद्देश्यले उक्त सडकलाई कृषि सडकको रूपमा निर्माण गर्न थालिएको हो ।
यसअघि वर्षायाममा हिलो र पानी जम्ने समस्याका कारण खेतसम्म ट्र्याक्टर, टिलर तथा अन्य कृषि उपकरण लैजान समेत कठिनाइ हुने गरेको स्थानीयको गुनासो थियो ।

महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप पाण्डेयले कृषि सडक निर्माणपछि किसानको समय र लागत दुवै बचत हुने बताए ।
‘लामो समयदेखि बाटो नहुँदा कृषकले ठूलो समस्या भोग्दै आएका थिए,’ उनले भने, ‘सडक बनेपछि खेतीपाती सहज हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास गरेका छौँ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगार श्रमिकहरूलाई प्राथमिकताका साथ काममा लगाइएको गाउँपालिकाले जनाएको छ ।

सडक सम्याउने, नाली निर्माण, माटो कटान रोक्ने तथा पानी निकासको व्यवस्था गर्ने जस्ता काममा स्थानीय श्रमिकहरू सक्रिय रूपमा संलग्न छन् ।
यसले एकातर्फ बेरोजगारलाई रोजगारी उपलब्ध गराएको छ भने अर्कोतर्फ गाउँका लागि आवश्यक पूर्वाधार निर्माणलाई पनि गति दिएको स्थानीयको भनाइ छ ।

स्थानीय किसान विक्की चौधरीका अनुसार बाटोको अभावका कारण विगतमा धेरै समस्या झेल्नुपरेको थियो । ‘वर्षायाममा खेतसम्म पुग्नै गाह्रो हुन्थ्यो, उत्पादन बजारसम्म लैजान झनै समस्या थियो,’ उनले भने, ‘अहिले सडक निर्माण सुरु भएपछि आशा पलाएको छ । काम पूरा भएपछि उत्पादन बढाउने र राम्रो मूल्यमा बेच्ने वातावरण बन्छ भन्ने विश्वास छ ।’
गाउँपालिकाले निर्माण कार्यको गुणस्तरमा विशेष ध्यान दिइरहेको जनाएको छ । प्राविधिक टोलीले नियमित अनुगमन गरिरहेको र काम समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष पाण्डेयले जानकारी दिए ।

आवश्यक बजेट व्यवस्थापन सुनिश्चित गरिएको र सडक दीर्घकालीन रूपमा उपयोगी हुने गरी निर्माण गरिने गाउँपालिकाको दाबी छ ।
स्थानीय बासिन्दाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीसँगै विकासका काम अघि बढेको भन्दै सन्तुष्टि जनाएका छन् ।
कृषि सडक निर्माण सम्पन्न भएपछि डाम्ही टोलका किसानको जीवनस्तरमा सुधार आउने र समग्र ग्रामीण विकासमा सकारात्मक प्रभाव पर्ने स्थानीयको विश्वास छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

