जाडो छल्न उपमहानगरपालिकाको सराहनीय कदम, जनकपुरधामका चोक चोकमा दाउरा वितरण

जनकपुरधाम, ८ पुष । पछिल्लो केही दिनदेखि तराई मधेशमा शीतलहरी बढेपछि जनकपुरधाम उपमहानगरपालिकाले सर्वसाधारणलाई लक्षित गर्दै दाउरा वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
चिसोका कारण दैनिक जनजीवन प्रभावित बन्दै गएपछि उपमहानगरपालिकाले मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै उक्त राहत कार्यक्रम अघि सारेको हो ।
जनकपुरधामका प्रमुख चोक, धार्मिक स्थल वरपर तथा सार्वजनिक स्थानहरूमा दाउरा वितरण गर्दै आगो बाल्ने व्यवस्था मिलाइएको नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए ।
यसबाट बिहान साँझ खुला स्थानमा बस्न बाध्य हुने सर्वसाधारण, मजदुर, वृद्धवृद्धा, बालबालिका तथा बाहिरी जिल्लाबाट आएका तीर्थयात्री र आगन्तुकहरूलाई ठूलो राहत पुगेको छ ।

उपमहानगरपालिकाका अनुसार शीतलहरीको असर अझ केही दिन रहने मौसम पूर्वानुमान रहेकाले चिसोबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न विशेष सतर्कता अपनाइएको हो ।
‘चिसोका कारण स्वास्थ्य समस्या नदेखियोस् भन्ने उद्देश्यले तत्काल आवश्यक राहत सामग्रीका रूपमा दाउरा वितरण गरिएको हो,’ नगरप्रमुख साहले भने ।
उनले आवश्यक परे थप स्थानहरूमा पनि दाउरा तथा अन्य सहयोग सामग्री उपलब्ध गराइने जानकारी दिए । दाउरा वितरणसँगै उपमहानगरपालिकाले नागरिकलाई अत्यधिक चिसोको समयमा आगो ताप्दा सतर्कता अपनाउन, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न तथा असहज महसुस भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै सडक छेउछाउ तथा जोखिमयुक्त स्थानमा आगो बाल्दा आगलागी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सचेत रहन अनुरोध गरिएको छ ।
धार्मिक तथा पर्यटकीय शहरका रूपमा चिनिने जनकपुरधाममा शीतलहरीका बेला आगन्तुकको चाप पनि बढ्ने भएकाले यस किसिमको व्यवस्थापनले शहरको सकारात्मक छवि निर्माण गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ ।
उपमहानगरपालिकाले शीतलहरीको प्रभाव कम नहुँदासम्म आवश्यक राहत तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
चिसोबाट नागरिकको जीवन र स्वास्थ्य सुरक्षित राख्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाले मानवमैत्री र उत्तरदायी भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

