बंगलादेशमा अल्पसंख्यक लक्षित हिंसा मानवतामाथिको हमला : पूर्वमुख्यमन्त्री सोनल

पर्सा, ७ पुष । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बंगलादेशमा हिन्दु समुदायसहित धार्मिक अल्पसंख्यकमाथि भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।
बंगलादेशमा हालै सरकारविरोधी आन्दोलनका क्रममा हिन्दु युवक दीपुचन्द्र दासको निर्मम हत्या भएको घटनालाई मानवता विरोधी जघन्य अपराधको संज्ञा दिँदै सोनलले उक्त घटनाको निन्दा गरेका छन् ।
उनले भने, ‘धार्मिक पहिचानकै आधारमा गरिएको यस्तो क्रुर हत्या कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन । यो घटना केवल बंगलादेशको आन्तरिक विषय नभई सम्पूर्ण विश्व समुदायलाई स्तब्ध बनाउने खालको हो ।’
सञ्चारकर्मीसँग कुरा गर्दै सोनलले बंगलादेशमा हिन्दु लगायत अन्य धार्मिक अल्पसंख्यक समुदायमाथि निरन्तर भइरहेका हिंसात्मक घटनाहरू तत्काल रोक्नुपर्नेमा जोड दिए ।
उनले नेपाल सरकारले छिमेकी मुलुकका रूपमा मानवअधिकार र धार्मिक स्वतन्त्रताको संरक्षणका विषयमा स्पष्ट धारणा राख्दै कूटनीतिक माध्यमबाट दबाब सिर्जना गर्नुपर्ने बताए ।
पूर्वमुख्यमन्त्री सोनलका अनुसार बंगलादेशमा अल्पसंख्यक समुदाय असुरक्षित महसुस गरिरहेको अवस्था अन्तर्राष्ट्रिय मानवअधिकारका मूल्य मान्यताविपरीत छ ।
‘अल्पसंख्यकको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो । त्यो दायित्व पूरा हुन नसक्नु गम्भीर चिन्ताको विषय हो,’ उनले भने ।
उनले बंगलादेशमा हाल महमद युनुसको नेतृत्वमा रहेको सरकार जनताको प्रत्यक्ष म्याण्डेटबाट नभई विद्रोहपछि बनेको कामचलाउ अन्तरिम सरकार भएको टिप्पणीसमेत गरे ।
सोनलले त्यहाँ स्थायी शान्ति र स्थायित्वका लागि जनताको म्याण्डेटबाट निर्वाचित सरकार गठन हुन आवश्यक रहेको धारणा राखे ।
सोनलले अन्तर्राष्ट्रिय समुदायलाई समेत बंगलादेशको वर्तमान अवस्थाप्रति चासो देखाउन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रिया, मानवअधिकार र अल्पसंख्यक संरक्षण सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताए ।
‘विश्व समुदाय मौन बस्न मिल्दैन । धार्मिक सहिष्णुता र मानवअधिकारको रक्षा सबैको साझा दायित्व हो,’ उनले भने ।
बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा रोक्न नेपाल सरकारले कूटनीतिक पहलमार्फत अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनु अहिलेको आवश्यकता रहेको सोनलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

