जनकपुरधाम, ७ पुष । बङ्गलादेशमा धार्मिक पहिचानको आधारमा अल्पसंख्यक हिन्दू समुदायमाथि भएको निर्मम हत्याप्रति नेपाली कांग्रेसका युवा नेता सोनु निधिले दुःख व्यक्त गरेका छन् ।

उनले उक्त घटना कुनै साधारण आपराधिक गतिविधि मात्र नभई राज्यले आफ्ना नागरिकको सुरक्षा गर्न असफल भएको प्रमाण भएको बताए ।

निधिले धार्मिक अल्पसंख्यकलाई लक्षित गरी हुने यस्ता हिंसात्मक घटनाहरू अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, धार्मिक स्वतन्त्रता र अल्पसंख्यक संरक्षणसम्बन्धी सबै मान्यताहरूको खुला उल्लङ्घन भएको उल्लेख गरे ।

‘लोकतन्त्र, धर्मनिरपेक्षता र मानवअधिकारप्रतिको प्रतिबद्धता दोहोर्‍याइरहने बङ्गलादेश सरकारले आफ्नै भूमिमा अल्पसंख्यक नागरिक सुरक्षित हुन नसक्नु गम्भीर प्रश्न र अन्तर्राष्ट्रिय चिन्ताको विषय हो,’ उनले भने ।

निधिका अनुसार दोषीहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही नगरेसम्म यस्ता लक्षित हिंसाको पुनरावृत्ति रोक्न सकिँदैन । ‘दण्डहीनताको संस्कारले हिंसालाई प्रोत्साहन गर्छ । न्याय सुनिश्चित नगरेसम्म पीडित समुदायमा भय र असुरक्षा कायमै रहन्छ,’ उनले जोड दिए ।

उनले यस सन्दर्भमा नेपाल सरकारलाई मौन कूटनीतिमा सीमित नरहन आग्रह गरे । द्विपक्षीय संवादका साथै संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद् र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा स्पष्ट र दृढ आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउँदै नेता निधिले धार्मिक अल्पसंख्यकमाथि हुने हिंसालाई आन्तरिक विषयको नाममा ढाकछोप गर्न दिनु अन्तर्राष्ट्रिय समुदायको नैतिक असफलता हुने चेतावनी दिए ।

नेता निधिले दक्षिण एशियाली क्षेत्रमै धार्मिक सहिष्णुता, बहुलवाद र मानवअधिकारको संरक्षण साझा दायित्व भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै सरकारहरू गम्भीर हुनुपर्ने बताए ।

‘धार्मिक पहिचानकै कारण कसैको ज्यान जाने अवस्था सभ्य समाजका लागि अस्वीकार्य हो,’ उनको भनाइ छ । उनले दिवङ्गत सनातनी हिन्दू युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे ।

‘माता जानकीले यो अन्यायपूर्ण पीडा सहन अपार धैर्य र शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछु,’ निधिले भने ।

निधिले उक्त घटनाले बङ्गलादेशसहित समग्र क्षेत्रमै अल्पसंख्यक सुरक्षाको प्रश्नलाई पुनः गम्भीर रूपमा उठाएको भन्दै मानवअधिकारकर्मीहरूले पनि निष्पक्ष छानबिन, दोषीमाथि कठोर कारबाही र दीर्घकालीन संरचनात्मक सुधार अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।