कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि धनुषाबाट पक्राउ

जनकपुरधाम, ७ पुष । कर्तव्य ज्यानसम्बन्धी गम्भीर अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले १७ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीका अनुसार विसं २०६५ साल वैशाख ५ गते राति करिब १० बजे तत्कालीन बल्हागोठ गाविस–६ (हाल जनकनन्दिनी गाउँपालिका–२) मा भएको कुटपिट घटनामा एक महिलाको ज्यान गएको थियो ।
सो घटनामा देवजी खत्वे, बिन्दे खत्वे र देवजी खत्वेको श्रीमती परमदेवी खत्वेनीले सोही स्थानकी करिब ६० वर्षीया गुलाविया देवी खत्वेनी तथा रामशरण खत्वेमाथि कुटपिट गरेका थिए ।
कुटपिटकै क्रममा गुलाविया देवी खत्वेनीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि रामशरण खत्वेको जाहेरीका आधारमा नेपाल सरकार वादी र देवजी खत्वे समेत चार जनालाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरिएको थियो । तर, घटनापछि सबै प्रतिवादी फरार भएका थिए ।
लामो समयदेखि फरार रहेका प्रतिवादीहरूमध्ये इलाका प्रहरी कार्यालय खजुरीले विशेष खोजतलासका क्रममा देवजी खत्वेको छोरा करिब ५० वर्षीय बिन्दे खत्वेलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका खत्वेलाई जिल्ला अदालत धनुषाबाट पुष ५ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक मनोज कुमार यादवले जघन्य अपराधमा संलग्न भई फरार रहेका अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी निरन्तर सक्रिय रहेको बताए ।
उनले फरार अभियुक्तहरू जहाँसुकै लुकेर बसे पनि अन्ततः कानुनी कारबाहीबाट बच्न नसक्ने स्पष्ट पारे ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीलाई हाल इलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा राखिएको छ भने घटनामा संलग्न अन्य फरार प्रतिवादीहरूको खोजी कार्यसमेत तीव्र पारिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

