जनकपुरधाम, ७ पुष । आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ ।

निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलका क्रममा प्रस्तुतीकरण गर्दै निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पछिल्लो तथ्यांक सार्वजनिक गरेका हुन् ।

उनका अनुसार हाल देशभर दर्ता मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो । त्यसयता करिब १० लाख १६ हजार ७५४ जना नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार यसपटक थपिएका १० लाखभन्दा बढी मतदातामध्ये अधिकांश युवा रहेका छन् । यसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने अवसर पाउनेछन् ।

मतदाता संख्या बढ्नुले लोकतान्त्रिक सहभागिता विस्तार हुँदै गएको संकेत गर्ने आयोगको ठहर छ ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक, सचेतना कार्यक्रम तथा प्रविधिको प्रयोगले मतदाता दर्तामा सकारात्मक प्रभाव परेको जनाएको छ । साथै आयोगले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको पनि जनाएको छ ।