जनकपुरधाम, ७ पुष । मधेश प्रदेश सभाको सभामुख पदमा पदभार ग्रहण गरेसँगै रामअशिष यादवले सामाजिक उत्तरदायित्व र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउने सन्देश दिएका छन् ।

पदभार ग्रहणको अवसरमा सभामुख यादवले प्रदेश सभामा विगत आठ वर्षदेखि निरन्तर सेवा गर्दै आएका सरसफाइ कर्मचारीहरूलाई चिसो मौसमलाई ध्यानमा राख्दै न्यानो कम्बल वितरण गरेका हुन् ।

लामो समयदेखि पर्दा पछाडि रहेर प्रदेश सभाको स्वच्छता र व्यवस्थापनमा योगदान दिँदै आएका सरसफाइ कर्मचारीप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै उनले उनीहरूको श्रम र समर्पणलाई राज्यले उच्च कदर गर्नुपर्ने बताए ।

त्यस्तै, सभामुख यादव र उपसभामुख बबिता राउत ईशरले संयुक्त रूपमा मधेश प्रदेश सभाको परिसरमा श्रीखण्ड (स्वेत चन्दन)को बिरुवा रोपेका छन् ।

धार्मिक, सांस्कृतिक र पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिने चन्दनको बोट पर्यावरण अभियानी सुरेश शर्माले उपलब्ध गराए ।

बिरुवा रोपण कार्यक्रममा सभामुख यादवले वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै प्रदेश सभाबाट नै हरित अभियानलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘विकास र समृद्धिसँगै वातावरण संरक्षणलाई आत्मसात् नगरेसम्म दिगो भविष्य सम्भव हुँदैन ।’