नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

जनकपुरधाम, ७ पुष । जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्कीले कुल ५१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई पछि पारेर अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा विजय गुरुङले ४६२ मत, रश्मी शिल्पकारले १४७ मत र राजाराम गौतमले ८३ मत प्राप्त गरेका छन् ।
७७ जिल्लाबाट जनकपुरधाम आएका प्रतिनिधिहरूको सक्रिय सहभागिताबीच भएको निर्वाचनलाई उत्साहपूर्ण र प्रतिस्पर्धात्मक मानिएको छ ।
जनकपुरधाम जेसिजको आतिथ्यमा ऐतिहासिक तिरहुतियागाछिमा आयोजना गरिएको महाधिवेशनमा देशभरका १७४ शाखाबाट करिब ५ हजार युवा सहभागी भएका थिए ।
‘युवाहरूको महाकुम्भ’का रूपमा लिइएको महाधिवेशनमा नेतृत्व विकास, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र दिगो विकासका विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष जीवन कार्कीले युवाको क्षमता अभिवृद्धि, उद्यमशीलताको प्रवर्द्धन, संगठन सुदृढीकरण र समाजप्रति उत्तरदायी नेतृत्व विकासलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने विश्वास दिलाएका छन् ।
मिथिला संस्कृतिको ऐतिहासिक भूमिमा सम्पन्न महाधिवेशनले स्थानीय संस्कृति, पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको आयोजकको भनाइ छ ।
महाधिवेशनसँगै नेपाल जेसिजले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहित आफ्नो भावी कार्यदिशा तय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

