जनकपुरधाम, ६ पुष । मधेश प्रदेश सभाको सभामुख पदमा जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य तथा पार्टीका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकले यादवलाई सभामुख पदमा निर्वाचित गरेको हो ।

बैठकको अध्यक्षता गरेकी उपसभामुख बविता राउत ईशरले सभामुख निर्वाचनको औपचारिक घोषणा गरिन् । उनका अनुसार बैठकमा उपस्थित ९६ जना प्रदेश सभा सदस्यमध्ये यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ मत परेको थियो । प्रदेश सभामा हाल कायम रहेको १०७ सदस्यीय संख्यामा बहुमतका लागि कम्तीमा ५४ मत आवश्यक पर्ने व्यवस्था छ ।

सभामुख पदमा यादव बहुमतले निर्वाचित भएपछि अर्को उम्मेदवारीमाथि थप छलफल आवश्यक नपर्ने निर्णय गरिएको छ । नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापाको प्रस्तावमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका एमालेका प्रदेश सभा सदस्य त्रिलोकी प्रसादको प्रस्तावमाथि छलफल गर्नु नपर्ने उपसभामुख ईशरले बताइन् ।

सात राजनीतिक दलको समर्थनमा सभामुखमा निर्वाचित भएका यादव मधेश प्रदेशको राजनीतिक वृत्तमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् । राजनीतिक यात्राअघि उनले पत्रकारितामा लामो अनुभव बटुलेका थिए ।

पत्रकारितासँगै शिक्षण पेशामा पनि संलग्न रहेका यादवले अङ्ग्रेजी विषयको आधारभूत तहको शिक्षकका रूपमा समेत काम गरेको अनुभव छ । सञ्चार, शिक्षा र राजनीतिमा रहेको उनको बहुआयामिक अनुभवले प्रदेश सभाको नेतृत्व अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।

सभामुखमा निर्वाचित भएपछि यादवले प्रदेश सभालाई विधिसम्मत, समावेशी र लोकतान्त्रिक ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाउने विश्वास लिइएको छ । मधेश प्रदेशको राजनीतिक स्थायित्व र विधायी कार्यसूचीलाई अगाडि बढाउन उनको भूमिका महत्वपूर्ण रहने देखिन्छ ।