जनकपुरधाम, ६ पुष । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ ।

सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएपछि प्रदेश सभा आज निर्णायक मोडमा पुगेको छ ।

सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद सभामुखका प्रत्याशी बनेका छन् ।

प्रदेश सभा सचिवालयमा दर्ता गराइएको यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य फकिरा महतो समर्थक रहेका छन् ।

गठबन्धन दलहरूको समर्थन प्राप्त यादवलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

यता, नेकपा एमालेले आफ्ना प्रदेश सांसद त्रिलोकी प्रसादलाई सभामुखको उम्मेदवार बनाएर प्रतिस्पर्धामा उतारेको छ । एमालेले प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिकालाई ध्यानमा राख्दै आफ्नै उम्मेदवार अघि सारेको बताइएको छ ।

प्रदेश सभा नियमावलीअनुसार आज हुने निर्वाचनमा उपस्थित सदस्यहरूको बहुमत प्राप्त गर्ने उम्मेदवार सभामुखमा निर्वाचित हुनेछन् ।