स्व. रामनारायण मिश्रको ५८औँ पुण्यतिथिमा श्रद्धाञ्जलि सभा सम्पन्न

जनकपुरधाम, ६ पुष । राणा–राजा शासनविरुद्धको आन्दोलन तथा नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि ऐतिहासिक योगदान पुर्याएका प्रजातन्त्र सेनानी स्वर्गीय रामनारायण मिश्रको ५८औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि तथा प्रार्थना सभा सम्पन्न भएको छ ।
कार्यक्रममा स्व. मिश्रले देशमा लोकतन्त्र स्थापना गर्न गरेको त्याग, संघर्ष र योगदानको स्मरण गर्दै विभिन्न वक्ताहरूले उनको जीवन संघर्षलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए ।
राणा शासनको दमनकारी व्यवस्थाविरुद्ध आवाज उठाउँदै जनतालाई सचेत र संगठित गर्न उनले खेलेको भूमिका ऐतिहासिक र प्रेरणादायी रहेको सहभागीहरूको भनाइ थियो ।
वक्ताहरूका अनुसार स्व. मिश्र केवल राजनीतिक आन्दोलनका अगुवा मात्र नभई सामाजिक चेतना र नागरिक अधिकारका पक्षधर पनि थिए । जनताको हक अधिकार सुनिश्चित गर्न उनले भोग्नुपरेका कठिनाइ, जेल जीवन र निरन्तर संघर्ष आज पनि लोकतान्त्रिक अभ्यासका लागि मार्गदर्शक बनेको उल्लेख गरियो ।
श्रद्धाञ्जलि सभामा बोल्दै वक्ताहरूले भने, ‘आज हामी लोकतन्त्रको अभ्यास गरिरहेका छौँ भने त्यसको जग स्व. रामनारायण मिश्रजस्ता अग्रजहरूको त्याग र बलिदानले तयार भएको हो । उनका आदर्श, विचार र संघर्ष सधैँ स्मरणीय रहनेछन् ।’
कार्यक्रममा स्व. मिश्रप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मौनधारण गरिएको थियो । साथै, उनको योगदानलाई भावी पुस्तासम्म पुर्याउन इतिहास लेखन, स्मृति कार्यक्रम तथा शैक्षिक पाठ्यक्रममार्फत समेटिनुपर्ने सुझावसमेत दिइयो ।
स्थानीय अगुवा, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागितामा सम्पन्न कार्यक्रममा स्व. मिश्रको जीवन संघर्षमाथि प्रकाश पार्दै लोकतन्त्र सुदृढीकरणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिइएको थियो ।
वक्ताहरूले स्व. मिश्रको त्याग, संघर्ष र योगदानलाई केवल पुण्यतिथिमा मात्र नभई निरन्तर स्मरण गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र प्रवर्द्धनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

