सीताको नगरीबाट महिला नेतृत्वको हुंकारः नेपाल जेसिजको अध्यक्षमा रश्मी शिल्पकारको सशक्त उम्मेदवारी

जनकपुरधाम, ५ पुष । नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन सीताको पावन नगरी जनकपुरधाममा भव्य रूपमा शुरू भएसँगै संगठनको भावी नेतृत्वबारे बहस तीव्र बनेको छ ।
यस महाधिवेशनमा अध्यक्ष पदका लागि रश्मी शिल्पकारको उम्मेदवारी महिला नेतृत्व, समावेशिता र परिवर्तनको रूपमा अगाडि आएको छ ।
जनकपुरधाम जेसिजको आतिथ्यमा ऐतिहासिक तिरहुतियागाछीमा सुरू भएको महाधिवेशनमा देशभरका ७७ जिल्लाबाट आएका १ सय ७४ शाखाका करिब ५ हजार युवाहरू सहभागी छन् ।
युवाहरूको महाकुम्भका रूपमा लिइएको महाधिवेशनले नेपाल जेसिजको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ ।
यसपटकको महाधिवेशनको विशेषता भनेकै महिला नेतृत्वको बलियो उपस्थिति र बहस हो । त्यसको केन्द्रमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी रश्मी शिल्पकार रहेकी छन् ।
संगठनभित्र लामो समयदेखि सक्रिय रहँदै नेतृत्व क्षमता प्रमाणित गरेकी शिल्पकारलाई प्रतिनिधिहरूले ‘जेसिजको परम्परागत नेतृत्व संरचनामा सकारात्मक परिवर्तन ल्याउने उम्मेदवार’का रूपमा हेर्न थालेका छन् ।
शिल्पकारले जेसिज आन्दोलनभित्र विभिन्न तहमा रहेर नेतृत्व विकास, महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गर्दै आएकी छन् ।
उनले महिलालाई नेतृत्वमा ल्याउनु केवल प्रतिनिधित्वका लागि मात्र नभई निर्णय प्रक्रियामा प्रभावकारी भूमिका सुनिश्चित गर्ने अभियानको रूपमा अघि सारेकी छन् ।
सीताको नगरी जनकपुरधामबाट उठेको उनको उम्मेदवारीलाई धेरैले मिथिला संस्कृतिको सहनशीलता, नेतृत्व क्षमता र नैतिक मूल्यसँग जोडेर मूल्यांकन गरिरहेका छन् ।
‘महिला नेतृत्वले संगठनलाई अझ संवेदनशील, समावेशी र दिगो बनाउँछ’ भन्ने शिल्पकारको धारणा महाधिवेशनमा सहभागी युवामाझ व्यापक समर्थन पाइरहेको देखिन्छ ।
अध्यक्ष पदको प्रतिस्पर्धामा शिल्पकारसँगै राजाराम गौतम, जीवन कार्की र विजय गुरुङका नाम पनि चर्चामा छन् । चारै उम्मेदवारले संगठन सुदृढीकरणका आ–आफ्ना एजेन्डा प्रस्तुत गरे पनि महिला नेतृत्वको सवालमा शिल्पकारको उम्मेदवारीलाई ऐतिहासिक अवसरका रूपमा लिइएको छ ।
धेरै प्रतिनिधिहरूले अब जेसिजले महिला नेतृत्वलाई केवल अवसर मात्र नभई आवश्यकताका रूपमा स्वीकार्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
महाधिवेशनमा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र दिगो विकासका विषयमा बहस तथा अनुभव आदान–प्रदान भइरहेका छन् ।
सफल महिला तथा पुरुष युवा उद्यमी, विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना अनुभव प्रस्तुत गरिरहेका छन् । यसले महिला नेतृत्वप्रतिको धारणा थप बलियो बनाएको छ ।
मिथिला संस्कृतिको ऐतिहासिक भूमिमा आयोजना गरिएको यस महाधिवेशनले स्थानीय संस्कृति, पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । यही परिवेशमा अध्यक्ष पदमा रश्मी शिल्पकारको उम्मेदवारीलाई महिला नेतृत्वको सशक्त आवाजका रूपमा हेरिएको छ ।
नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन पुष ७ गते सोमबार सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

