मोनास्टिकको ४०औँ वार्षिकोत्सवमा रक्तदान, ४२ जनाको सहभागिता

जनकपुरधाम, ५ पुष । जनकपुरधामको केन्द्रमा अवस्थित तथा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएको मोनास्टिक आवासीय माध्यमिक विद्यालयले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय परिसरमै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको थियो ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका डा. शिखा नायक र विद्यालयकी संस्थापक श्रीमती विणा साहको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरी जीवनरक्षामा महत्वपूर्ण योगदान पुर्याएका छन् । आयोजकका अनुसार कार्यक्रम अनुशासित, सुरक्षित तथा भव्य वातावरणमा सम्पन्न भएको हो ।
रक्तदान गर्नेहरूमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थीका अभिभावक तथा स्थानीय समाजसेवीहरू रहेका थिए । सहभागी सबै रक्तदाताप्रति विद्यालय प्रशासनले आभार व्यक्त गर्दै यस्ता मानवीय तथा सामाजिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ ।
विद्यालय प्रशासनका अनुसार शिक्षा मात्र नभई सामाजिक सेवामा समेत विद्यालयलाई अग्रणी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदै आएको छ ।
भविष्यमा पनि रक्तदान, स्वास्थ्य शिविर, सरसफाइ अभियानजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता विद्यालयले जनाएको छ ।
स्थानीय बासिन्दाहरूले पनि विद्यालयको यस पहलको प्रशंसा गर्दै शैक्षिक संस्थाले समाजप्रति निभाउने दायित्वको उदाहरणीय अभ्यास भएको प्रतिक्रिया दिएका छन् । मोनास्टिक आवासीय माध्यमिक विद्यालयको ४० वर्षे यात्रामा यस किसिमको मानवीय कार्यले थप गरिमा थपेको उनीहरूको भनाइ छ ।
















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

