मधेश प्रदेशको सभामुखमा एमालेका त्रिलोकी प्रसादको उम्मेदवारी

जनकपुरधाम, ५ पुष । मधेश प्रदेश सभाको सभामुख पदका लागि नेकपा एमालेबाट त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा सचिवालयमा दिउँसो करिब ३ बजे उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्रिलोकी प्रसादको उम्मेदवारीमा नेकपा एमालेकी प्रदेश सभा सदस्य शारदा देवी थापा प्रस्तावक तथा जयचन्द्र प्रसाद पटेल समर्थक रहेका छन् ।
एमालेले सभामुख पदमा आफ्नो उम्मेदवार अघि सार्दै संसदीय अभ्यासमा सशक्त भूमिका निर्वाह गर्ने स्पष्ट रणनीतिका साथ प्रसादलाई उम्मेदवार बनाएको जनाएको छ ।
सभामुख उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
पार्टीका नेताहरूका अनुसार संसदीय प्रक्रिया, विधि र विधानको पालना गर्दै प्रदेश सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने क्षमता भएकाले प्रसादलाई उम्मेदवार बनाइएको हो ।
एमालेका एक नेताले भने, ‘सभामुख पद प्रदेश सभाको गरिमा र अनुशासनसँग जोडिएको जिम्मेवारी हो । निष्पक्षता, अनुभव र संसदीय अभ्यासको ज्ञान भएका व्यक्तिलाई अघि सारिएको छ ।’
निर्धारित कार्यतालिका अनुसार उम्मेदवारी दर्तापछि सभामुख चयनका लागि मतदान प्रक्रिया अघि बढ्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

