जनकपुरधाम, ५ पुष । सामाजिक, सांस्कृतिक तथा युवामैत्री गतिविधिमा सक्रिय रामानन्द युवा क्लबको ४०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

क्लबको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

वार्षिकोत्सव समारोहका अवसरमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

साहित्य क्षेत्रमा निरन्तर साधना र योगदान पुर्‍याउँदै आएका साहित्यकार नित्यनन्द मण्डललाई प्रतिष्ठित विद्यापति स्मृति पदकद्वारा सम्मान गरिएको छ ।

त्यसैगरी खेलकुद क्षेत्रमा क्रिकेट प्रशिक्षणमार्फत युवा प्रतिभा उत्पादनमा सक्रिय क्रिकेट प्रशिक्षक नवीन सिंहलाई सम्मान गरिएको छ भने कला क्षेत्रतर्फ दीर्घकालीन सेवा र साधनाका लागि तबलावादक मिथिलेशलाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष शशिभूषण झाको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा क्लबका पूर्व अध्यक्षहरू, नागरिक समाजका अगुवा, बुद्धिजीवी, युवा अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वक्ताहरूले रामानन्द युवा क्लबले विगत चार दशकदेखि समाजमा सामाजिक एकता, साहित्य–संस्कृति संरक्षण, खेलकुद प्रवर्द्धन तथा कलाको उत्थानमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे ।

प्रमुख अतिथि डा. सुरेन्द्र लाभले आफ्नो सम्बोधनमा युवाहरूलाई सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्न आग्रह गर्दै यस्ता संस्थाहरू समाज परिवर्तनका महत्वपूर्ण आधार स्तम्भ भएको बताए । उनले रामानन्द युवा क्लबले निरन्तर रूपमा सिर्जनात्मक, प्रेरणादायी र समाजोपयोगी कार्यक्रम गर्दै आएकोमा शुभकामना व्यक्त गरे ।

कार्यक्रमका क्रममा क्लबको ४० वर्षे गौरवशाली यात्राको स्मरण गर्दै योगदान पुर्‍याउने सम्पूर्ण व्यक्तित्व, सहयोगी तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।

आयोजकले आगामी दिनमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित साहित्य, खेलकुद, कला र युवामुखी गतिविधिहरूलाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।