बारा, ५ पुष । बाराको सिमरा विमानस्थलबाट काठमाडौँका लागि सञ्चालन हुने सबै आन्तरिक हवाई उडान शनिबार रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण दृश्यता अत्यन्तै कम हुँदा उडान तथा अवतरण सम्भव नभएपछि सम्पूर्ण उडान स्थगित गरिएको हो ।

नागरिक उडान प्राधिकरण सिमराका ट्राफिक एयर कन्ट्रोलर सङ्गम श्रेष्ठका अनुसार शनिबार बिहानदेखि विमानस्थल क्षेत्रको दृश्यता करिब एक हजार मिटरमा सीमित रहेको छ ।

उडान सुरक्षाका लागि कम्तीमा दुई हजार चार सय मिटर दृश्यता आवश्यक पर्ने भए पनि आवश्यक मापदण्ड पूरा हुन नसक्दा उडान रद्द गर्नुपरेको उनले जानकारी दिए ।

सिमरा विमानस्थल बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाहीलगायत क्षेत्रका साथै छिमेकी मुलुक भारतको रक्सौल आसपासका यात्रुहरूको प्रमुख हवाई आवागमन केन्द्र मानिन्छ । दैनिक रूपमा व्यापार, उपचार, प्रशासनिक तथा निजी प्रयोजनका लागि सयौँ यात्रु सिमराबाट काठमाडौँ आवतजावत गर्ने गर्छन् ।

सामान्य अवस्थामा सिमराबाट काठमाडौँका लागि दैनिक पाँचदेखि २५ वटासम्म साना जहाजमार्फत उडान हुने गरेको छ । तर, मौसम प्रतिकूल बनेपछि उडान अवरुद्ध हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् । उडान रद्द भएपछि वैकल्पिक रूपमा स्थलमार्ग प्रयोग गर्न बाध्य भएको कलैया उपमहानगरपालिका–२ दोहोरीका श्यामबाबु प्रसाद यादवले बताए ।

नागरिक उडान प्राधिकरणले मौसममा सुधार आएपछि मात्रै उडान पुनः सञ्चालन गरिने जनाएको छ । यात्रुहरूलाई उडान तालिकाबारे सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरिएको छ ।