बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित

रौतहट, ५ पुष । चिसो बढेसँगै रौतहट जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम गौरसहित गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइलगायतका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो महसुस गरिएको छ ।
शनिबार बिहानदेखि नै जिल्लाभर बाक्लो हुस्सु लागेको छ । तुसारोसमेत परेपछि सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ । चिसोका कारण बजार क्षेत्रमा चहलपहल न्यून देखिएको छ भने सडकमा सवारीसाधनको आवागमनसमेत कम भएको छ ।
दुर्गा भगवती गाउँपालिकामा बिहानैदेखि हुस्सु र कुहिरोले चिसो अत्यधिक बढेको स्थानीय अशोक कुमार साहले बताए । ‘चिसो यति बढेको छ कि घरबाहिर निस्किनै सकिएको छैन,’ उनले भने ।
चिसोले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरू बढी प्रभावित भएका छन् । गौर नगरपालिका–२ महादेवपट्टीका सुखाडि पासवानका अनुसार चिसोका कारण काममा जान नसक्दा परिवारको गुजारा गर्न समस्या परेको छ ।
अत्यधिक चिसोको प्रभाव सरकारी कार्यालयमा समेत देखिएको छ । शुक्रबार जिल्लाका विभिन्न कार्यालयहरू सुनसान देखिएका थिए । पर्यटन विकास कार्यालयमा त एक जना पनि सेवाग्राही नआएको कार्यालय प्रमुख राजेश काफ्लेले जानकारी दिए ।
चिसोका कारण विशेषगरी विद्यार्थी, मजदुर, गरिब तथा असहाय वर्ग र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । रौतहट आसपासका क्षेत्रमा घाम नलाग्दा चिसो अझ बढ्ने अनुमान गरिएको छ ।
स्थानीय प्रशासनले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

