पत्रकार सुजित झाको १८औँ कृति ‘युग युग सियागाम’ सार्वजनिक

जनकपुरधाम, ५ पुष । मैथिली साहित्यका सशक्त स्वर, प्रख्यात साहित्यकार, कथाकार तथा पत्रकार सुजित झाको १८औँ कृति ‘युग युग सियागाम’ हालै प्रकाशित भएको छ ।
मैथिली भाषा र संस्कृतिको सम्वर्द्धनमा लामो समयदेखि सक्रिय झा मैथिली विकास कोषको कार्यसमिति सदस्यसमेत हुन् । उनको नयाँ कृतिले प्राचीन ज्ञान परम्परा र आधुनिक जीवन दर्शनबीच सेतु निर्माण गर्ने प्रयास गरेको साहित्यिक वृत्तमा चर्चा छ ।
गुरु–शिष्य संवादको शैलीमा लेखिएको ‘युग युग सियागाम’ ले साहित्यिक स्वाद मात्र नभई जीवनका मूल्य, संस्कार र चेतनाको ज्ञानधारालाई भावपूर्ण ढंगले प्रस्तुत गर्दछ । पुस्तकमा संवादमार्फत प्रस्तुत गरिएका विचारहरूले पाठकलाई आत्ममन्थनतर्फ उन्मुख गराउने विश्वास गरिएको छ ।
साहित्यकार झाका अनुसार यो कृति साधारण पुस्तकभन्दा फरक छ । ‘यो मेरो लागि मात्र एउटा लेखन परियोजना नभई समाजलाई जोड्ने चेतनाको दस्तावेज हो,’ उनले भने । पुस्तकले वर्तमान समयका चुनौतीहरूसँग जुध्दै पनि प्राचीन जीवनदर्शनलाई कसरी आत्मसात् गर्न सकिन्छ भन्ने प्रश्नमा केन्द्रित भएर विचार प्रस्तुत गर्छ ।
मैथिली साहित्यमा झाको योगदान बहुआयामिक मानिन्छ । कथा, निबन्ध, पत्रकारिता र सांस्कृतिक लेखनमार्फत उनले भाषा र साहित्यलाई नयाँ उचाइमा पुर्याउँदै आएका छन् । ‘युग युग सियागाम’ उनको निरन्तर साधनाको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
साहित्यिक समुदायले यस कृतिलाई मैथिली भाषा साहित्यका लागि महत्त्वपूर्ण उपलब्धि मानेको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार पुस्तकले युवा पुस्तालाई संस्कार र परम्परासँग जोड्न सहयोग पुर्याउनेछ भने वरिष्ठ पाठकका लागि आत्मिक सन्तुष्टि प्रदान गर्नेछ ।
झाको नयाँ कृति ‘युग युग सियागाम’ को सफलताको कामनासहित साहित्यप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

