जनकपुरधाम, ४ पुष । नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा भव्य रूपमा शुरू भएको छ ।

जनकपुरधाम जेसिजको आतिथ्यमा ऐतिहासिक तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा सुरू भएको महाधिवेशनमा देशभरका ७७ जिल्लाबाट आएका १ सय ७४ शाखाका करिब ५ हजार युवाहरूको सहभागिता रहेको छ ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष रजनि थापाको अध्यक्षतामा आयोजित महाधिवेशनको उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय जेसिजका उपाध्यक्ष तथा जापानका प्रख्यात एवं सफल व्यवसायी सुजुकी प्रमुख अतिथिका रूपमा सहभागी छन् ।

१८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय उपस्थितिसहित सुरू भएको महाधिवेशनलाई ‘युवाहरूको महाकुम्भ’का रूपमा लिइएको छ ।

महाधिवेशनमा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका विषयमा बहस, संवाद र अनुभव आदान प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमअन्तर्गत नेपालका सफल युवा उद्यमीहरू, वन डढेलोसम्बन्धी विज्ञ तथा विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना अनुभव र सुझाव प्रस्तुत गर्नेछन् । यसले युवालाई व्यावसायिक क्षमता अभिवृद्धि, रोजगारी सिर्जना र समाजप्रति उत्तरदायी नेतृत्व विकासतर्फ प्रेरित गर्ने विश्वास छ ।

उद्घाटन सत्रमा वक्ताहरूले युवाशक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा विकास गर्न उद्यमशीलता, सीप र नैतिक नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

मिथिला संस्कृतिको ऐतिहासिक भूमिमा आयोजना गरिएको महाधिवेशनले स्थानीय संस्कृति, पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशन आगामी पुष ७ गते सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।

महाधिवेशनले संगठनको भावी कार्यदिशा तय गर्नुका साथै देशभरका युवाबीच नेटवर्क विस्तार, सहकार्य र साझा लक्ष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।