लोसपा महोत्तरी–३ मा उम्मेदवार छनोट विवादित, युवालाई बहिष्कार गरिएको आरोप

जनकपुरधाम, ४ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवार छनोट प्रक्रियालाई लिएर असन्तुष्टि चुलिएको छ ।
उम्मेदवार सिफारिसका लागि बसेको बैठकमा एकल रूपमा महन्त ठाकुरको नाम मात्र सिफारिस गरिएको भन्दै पार्टीभित्रैबाट विरोध सुरु भएको हो ।
पिपरा गाउँपालिका–४ निवासी विनित पाण्डेयले आफूले उम्मेदवारीका लागि नाम प्रस्ताव गर्दासमेत लोकतान्त्रिक प्रक्रिया मिचेर एकल नाम सिफारिस गरिएको आरोप लगाएका छन् ।
उनले यस्तो निर्णय तानाशाही प्रवृत्तिको उदाहरण भएको भन्दै निन्दा र भर्त्सना गरेका छन् ।
पाण्डेयका अनुसार महोत्तरीका अन्य निर्वाचन क्षेत्रहरूमा युवालाई समेटेर उम्मेदवारको नाम सिफारिस गरिएको भए पनि क्षेत्र नं. ३ मा भने महन्त ठाकुर बाहेक कसैको नाम अघि बढाइएको छैन ।
‘पहिलो चरणमै युवालाई बाहिर राख्ने परम्परा दोहोरिएको छ,’ उनले भने ।
पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको र युवावर्गलाई योजनाबद्ध रूपमा उपेक्षा गरिएको आरोपसँगै लोसपा महोत्तरी–३ को उम्मेदवार छनोट प्रक्रिया थप विवादमा परेको छ ।
यस विषयमा पार्टी नेतृत्वको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

