जनकपुरधाम, ४ पुष । मधेश प्रदेश सभाको रिक्त सभामुख पदका लागि पुष ६ गते आइतबार निर्वाचन हुने भएको छ ।

प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ अनुसार उपसभामुखले सभामुख निर्वाचनको मिति र समय निर्धारण गरेसँगै औपचारिक निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रमअनुसार सभामुख पदमा उम्मेदवारी दिन चाहने प्रदेश सभा सदस्यहरूले पुष ५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रस्ताव र समर्थनसहित उम्मेदवारी दर्ता गराउन सक्नेछन् । दर्ता भएका उम्मेदवारीको सूची सोही दिन दिउँसो ३:३० बजे दर्ता क्रमानुसार प्रकाशन गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सार्वजनिक सूचीका आधारमा पुष ६ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रस्तावकले उम्मेदवारलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन् । उम्मेदवारीमाथि सामूहिक छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरी सभामुख चयन गरिने कार्यतालिका छ ।

प्रदेश सभा सचिवालयका सचिव बासु प्रसाद कोइरालाका अनुसार प्रस्तावित उम्मेदवारले आफ्नो एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सभामुख पद लामो समयदेखि रिक्त रहँदै आएको अवस्थामा निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै मधेश प्रदेश सभामा नयाँ नेतृत्व चयनको बाटो खुलेको छ ।