जनकपुरधाम, ४ पुष । तराई–मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्य समितिको आज बसेको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तीव्र बनाउँदै महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले पुष १० गतेभित्र प्रत्येक जिल्लाबाट प्रत्यक्ष (प्रतिनिधिसभा) तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भाग लिने सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रीय कार्यालयमा पठाउन सबै जिल्ला अध्यक्षहरूलाई परिपत्र गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार आगामी निर्वाचनलाई लक्षित गरी संगठनात्मक तयारी, उम्मेदवार छनोट प्रक्रिया र निर्वाचन रणनीतिलाई व्यवस्थित बनाउन उक्त निर्णय लिइएको हो ।

बैठकमा सहभागी नेताहरूले समयमै उम्मेदवारको नाम सिफारिस नआए निर्वाचन तयारी प्रभावित हुने भन्दै जिल्लाहरूलाई तोकिएको समयसीमाभित्र नामावली पठाउन निर्देशन दिएका छन् ।

केन्द्रीय कार्य समितिले जिल्लाहरूलाई स्थानीय स्तरमा छलफल र परामर्श गरेर सक्षम, लोकप्रिय र पार्टीको नीतिमा प्रतिबद्ध उम्मेदवार छनोट गर्न आग्रह गरेको छ । साथै, समानुपातिकतर्फ समावेशीता, क्षेत्रीय सन्तुलन र पार्टी योगदानलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिइएको छ ।

पार्टी नेतृत्वका अनुसार पुष १० पछि प्राप्त हुने नामावलीका आधारमा केन्द्रीय स्तरमा अन्तिम छलफल गरी उम्मेदवार चयन प्रक्रिया अघि बढाइनेछ ।

?