जनकपुरधाम, ४ पुष । मधेश प्रदेशको खेलकुद विकासको मेरुदण्ड मानिएको जनकपुरधामस्थित श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला १८ वर्ष बितिसक्दा पनि अधुरै छ ।

२०६४ सालदेखि निर्माण सुरु भएको रंगशाला आजसम्म पूर्णता नपाउँदा यहाँका खेलाडी, प्रशिक्षक र खेलप्रेमी निराश बनेका छन् । पटक पटक योजना, घोषणा र बजेट आए पनि व्यवहारमा रंगशाला केवल अधुरो संरचनामै सीमित छ ।

प्रदेश सरकारले क्रिकेट, हक्की, फुटबल, भलिबल, पौडीपुलसहितका बहुउद्देश्यीय खेल आयोजना गर्न सकिने आधुनिक रंगशालाको सपना देखाए पनि हालसम्म जम्मा एक करोड रुपैयाँ बराबरको मात्र संरचना बनेको छ । त्यसमा पनि बाउन्ड्री पर्खाल, सुरक्षाकर्मी बस्ने कोठा र एउटा क्रिकेट पिचमै खर्च सीमित भएको छ ।

गौरवको आयोजना, कागजमै सीमित

पछिल्लोपटक मधेश प्रदेश सरकारले श्रीरामजानकी रंगशालालाई ‘प्रदेश गौरवको आयोजना’ घोषणा गर्यो । यसले रंगशाला निर्माणले गति लिने अपेक्षा बढेको थियो । तर, गौरव घोषणा भएयता डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पार्नुबाहेक अन्य ठोस काम अघि बढेको छैन ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका अनुसार डिपिआरअनुसार रंगशाला पूर्ण रूपमा निर्माण गर्न करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्छ । जसमा क्रिकेट रंगशालाका लागि मात्रै करिब दुई अर्ब लागत अनुमान गरिएको छ । तर, प्रदेश सरकारसँग आवश्यक स्रोत नहुँदा यो आयोजना अहिले भारतीय अनुदानको भरमा अड्किएको छ ।

भारतीय अनुदानको प्रतीक्षा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाखमा जनकपुरधाम भ्रमणका क्रममा जनकपुरधामको विकासका लागि एक अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए । सो अनुदानमध्ये केही रकम रंगशाला निर्माणमा प्रयोग गरिने अपेक्षा गरिएको छ ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवका अनुसार प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट माग गर्दै अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । ‘झन्डै चार महिनाअघि फाइल अर्थ मन्त्रालयमा पुगेको थियो । तर, पछिल्लो समय बनेको राजनीतिक परिस्थितिका कारण फाइल भारतीय दूतावाससम्म पुग्न सकेको छैन,’ उनले भने ।

गत ५ मंसिरमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ जनकपुरधाम आउँदा फाइल छिटो अगाडि बढाउन ध्यानाकर्षण गराइएको मन्त्रालयले जनाएको छ । तर, भारतले अनुदान घोषणा गरे पनि अहिलेसम्म बजेट हस्तान्तरण भएको छैन ।

सरोकारवालाको उदासीनता

जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेय रंगशाला अलपत्र पर्नुको मुख्य कारण सरोकारवालाको उदासीनता भएको बताउँछन् । ‘रंगशालाको विषयमा न त सम्बन्धित निकाय गम्भीर छन्, न त स्थानीय तहले आवश्यक दबाब सिर्जना गरेको देखिन्छ,’ उनले भने ।

उनका अनुसार अहिले जनकपुरधाम उपमहानगरपालिकाको २० लाख सहयोगमा निर्माण गरिएको क्रिकेट पिचमा शहीद कप, मेयर कप र प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुँदै आएका छन् । ‘यदि संरचना पूरा भएको भए यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सजिलै आयोजना गर्न सकिन्थ्यो,’ पाण्डेयको भनाइ छ ।

पटक पटक बजेट फ्रिज

श्रीरामजानकी रंगशालाको नाममा विनियोजन भएको बजेट पटक पटक फ्रिज हुनु पनि निर्माण नहुनुको अर्को कारण बनेको छ । २०७५ सालमा खेलकुद मन्त्रालयले रंगशाला निर्माणका लागि ६ अर्ब १९ करोड लागत अनुमान गरेको थियो । सोही वर्ष २ करोड ५० लाख रुपैयाँ विनियोजन भए पनि सीमित संरचना बनेर बाँकी रकम खर्च हुन सकेन ।

त्यसपछि २०७६/७७ मा पाँच करोड, २०७७/७८ मा एक करोड र २०७८/७९ मा पनि एक करोड रुपैयाँ विनियोजन गरियो । तर, ती सबै रकम प्रायः फ्रिज भए । २०७८/७९ मा त भाडा वापत १८ लाख रुपैयाँ बाहेक बाँकी रकम खर्चै हुन सकेन ।

रंगशाला रहेको १७ बिघा जग्गा गुठी संस्थानको स्वामित्वमा छ । २०७४ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र गुठी संस्थानबीच वार्षिक नौ लाख रुपैयाँ तिर्ने गरी जग्गा लिज सम्झौता गरिएको थियो । गत वर्ष सो सम्झौता सकिएपछि खेलकुद तथा समाज कल्याण मन्त्रालयले वार्षिक २५ लाख रुपैयाँ तिर्ने गरी नयाँ सम्झौता गरेको छ ।

रंगशालाका अभियन्ता दिनेश पुर्वेका अनुसार जग्गा राखेपको नाममा भएकै कारण विगतमा प्रदेश सरकारले लगानी गर्न हिच्किचायो ।

रंगशाला र राजनीति

अभियन्ताहरू रंगशाला अलपत्र पर्नुमा केन्द्रको राजनीति पनि जिम्मेवार रहेको आरोप लगाउँछन् । २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका रंगशालालाई स्थानीय, प्रदेश र राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा वर्गीकरण गरेपछि जनकपुरधाम पछाडि परेको उनीहरूको दाबी छ ।

‘जनकपुरधाममा आउनुपर्ने बजेट झापाको दमकस्थित मदन भण्डारी रंगशालातिर मोडियो,’ पुर्वेले भने, ‘सरकारले जनकपुरसँग विभेद गर्यो ।’

त्यसैगरी, प्रदेशस्तरीय अन्तर्राष्ट्रिय रंगशालाका रूपमा अगाडि बढाउँदा वीरगंजमा विरोध सुरु भएपछि तत्कालीन मुख्यमन्त्री लालबाबु राउत पनि पछि हटेको आरोप छ । यसले पनि निर्माण प्रक्रियामा नकारात्मक असर पारेको बताइन्छ ।

अधुरो संरचना, अधुरै सपना

आज जनकपुरधाममा श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला नाम मात्रैको अन्तर्राष्ट्रिय रंगशाला बनेको छ । वीरगंजको नारायणी रंगशाला र सप्तरीको राजविराज रंगशालामा पनि सीमित गतिविधि मात्र भइरहेका छन् । मधेश प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल आयोजना गर्ने सपना अझै पूरा हुन सकेको छैन ।

१८ वर्षदेखि अलपत्र परेको श्रीरामजानकी रंगशाला अब कागज र घोषणामा सीमित रहने कि साँच्चिकै मैदानमा परिणत हुने ? यसको उत्तर बजेट, राजनीतिक इच्छाशक्ति र सरोकारवालाको सक्रियतामै निर्भर देखिन्छ ।