हामी चुनावकै पक्षमा छौं, अदालतको निर्णय स्वीकार्छौं : लोसपा अध्यक्ष ठाकुर

जनकपुरधाम, ४ पुष । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी निर्वाचनको पक्षमा स्पष्ट रूपमा उभिएको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक परिस्थितिबीच उनले तोकिएकै मितिमा चुनाव भए लोसपा सहभागी हुने बताएका हुन् ।
अध्यक्ष ठाकुरले भने, ‘हामी चुनावकै पक्षमा छौं । फागुन २१ गते चुनाव भयो भने त्यसमा भाग लिन्छौं ।’ उनका अनुसार राजनीतिक अस्थिरताको समाधान जनताबाट निर्वाचित प्रतिनिधिमार्फत् नै खोजिनु उपयुक्त हुने लोसपाको धारणा छ ।
यद्यपि, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पार्टीले न्यायालयको भूमिकालाई उच्च सम्मान गर्ने ठाकुरको भनाइ छ । ‘यो विषय सर्वोच्च अदालतमा पुगेको छ र सुनुवाइसमेत अगाडि बढिसकेको छ,’ उनले भने, ‘अदालतले जे निर्णय गर्छ, त्यसलाई हामी स्वीकार गर्छौं ।अदालतको निर्णय मान्नुको विकल्प कसैसँग हुँदैन ।’
अध्यक्ष ठाकुरको यो अभिव्यक्ति नेपाली कांग्रेस र नेकपा एमालेले विघटित प्रतिनिधिसभाका बहुमत सदस्यको हस्ताक्षर संकलन गरी सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता गर्ने तयारी गरिरहेको सन्दर्भमा आएको हो । कांग्रेस र एमालेले सो पहलमा साना दलहरूको समेत साथ खोजिरहेका छन् ।
तर, लोसपाले यस विषयमा अहिलेसम्म स्पष्ट निर्णय सार्वजनिक गरेको छैन । अध्यक्ष ठाकुरका अनुसार अदालतमा मुद्दा दर्ता भइसकेको र सुनुवाइको प्रक्रिया अघि बढिसकेको अवस्थामा थप पुरक निवेदन लैजानु कति उपयुक्त हुन्छ भन्ने विषय आफैंमा विचारणीय छ । ‘मुद्दा अदालतमा पुगेपछि त्यसैलाई अदालतले टुंगो लगाउने हो,’ उनले भने, ‘यस्तो अवस्थामा थप निवेदन आवश्यक पर्छ कि पर्दैन भन्ने प्रश्न उठ्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

