मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै, समर्थन सहज हुने अनुमान

जनकपुरधाम, ४ पुष । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री यादवले शुक्रबार अपरान्ह ४ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै यसअघि नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र दर्ता गराइसकेका छन् ।
नेपालको संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य रूपमा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यही प्रावधानअनुसार तोकिएको समयसीमाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादव प्रदेशसभामा उपस्थित हुन लागेका हुन् ।
मुख्यमन्त्री यादव गत मंसिर १९ गते नेपाली कांग्रेसको संसदीय दलका नेताको हैसियतमा मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई कांग्रेससहित सात राजनीतिक दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नियुक्तिपछि संवैधानिक दायित्वअनुसार विश्वासको मत लिनुपर्ने भएकाले आजको प्रदेशसभा बैठकलाई विशेष महत्वका साथ हेरिएको छ । प्रदेशसभा सचिवालयले विश्वासको मतसम्बन्धी कार्यसूची तयारी भइसकेको र आवश्यक व्यवस्थापन पूरा गरिएको जानकारी दिएको छ ।
प्रदेशसभामा हाल रहेका विभिन्न दलहरूको संख्यात्मक अवस्थालाई हेर्दा मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो देखिएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबीच कुनै ठूला मतभेद नदेखिएकाले विश्वासको मत प्रक्रियामा कुनै अवरोध नआउने देखिएको छ ।
आजको बैठकपछि मुख्यमन्त्री यादवको सरकार औपचारिक रूपमा पूर्ण वैधानिकता प्राप्त गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

