जनकपुरधाम, ३ पुष । मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अब गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सर्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा मुख्यमन्त्री कार्यालय अस्थायी रूपमा मधेश भवनभित्र रहेको कवर्ड हलबाट सञ्चालन हुँदै आएको थियो । तर, सो स्थानमा मुख्यमन्त्रीको कार्यकक्ष नहुँदा कामकाजमा समस्या देखिन थालेको थियो ।

केही समयअघि गृह, सञ्चार तथा कानुन मन्त्रालयमा रहेको मन्त्रीको कक्षलाई अस्थायी रूपमा मुख्यमन्त्रीको कार्यकक्षको रूपमा प्रयोग गर्दै आइएको थियो । अब, मुख्यमन्त्रीको कार्यालय स्थायी रूपमा सो मन्त्रालयमा सार्ने निर्णय मुख्यमन्त्रीस्तरीय रूपमा भएको छ ।

मुख्यमन्त्री कार्यालयका उपसचिव रोहित कोइरालाका अनुसार आवश्यक पत्राचार कार्यान्वयनका लागि भइसकेको छ । यस निर्णयसँगै हाल मुख्यमन्त्री कार्यालय सञ्चालन हुँदै आएको कवर्ड हलमा गृह, सञ्चार तथा कानुन मन्त्रालयको कार्यालय सर्ने तयारी समेत भइरहेको छ ।